छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्यो : प्रशिक्षक निक

काठमाडौं। समूह चरणको अन्तिम खेलअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथसले टोलीको कमजोरी सीप अभावमा नभई छिटो सिक्न नसक्ने बानी भएको स्वीकार गरेका छन्।
नेपाल सुपर–८ दौडबाट बाहिरिए पनि स्कटल्यान्डविरुद्ध सकारात्मक सन्देशसहित प्रतियोगिता टुंग्याउने लक्ष्यका साथ मैदान उत्रने तयारीमा छ।
प्रि–म्याच पत्रकार सम्मेलनमा पोथसले ड्रेसिङ रुममा पर्याप्त प्रतिभा भए पनि त्यसलाई निरन्तर प्रदर्शनमा रूपान्तरण गर्न नसकिएको बताए। उनका अनुसार एउटै गल्ती दोहोर्याउने प्रवृत्तिले विश्वकपजस्तो प्रतियोगितामा ठूलो मूल्य चुकाउनुपर्छ।
‘घरेलु क्रिकेटमा कहिलेकाहीँ पूर्ण कार्यान्वयन नगर्दा पनि पुग्छ। तर, विश्वकपमा साना त्रुटिले पनि खेलको दिशा बदल्छ,’ उनले भने।
पोथसले इङ्ल्यान्डविरुद्धको प्रतिस्पर्धात्मक प्रदर्शनलाई सकारात्मक उदाहरणका रूपमा उल्लेख गरे। इङ्ल्यान्डविरुद्ध योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिएको तर इटलीविरुद्ध त्यही स्तर दोहोर्याउन नसकिएको उनको भनाइ थियो।
‘एउटा राम्रो खेलले टोली महान् हुँदैन। महान् टोली भनेको निरन्तर राम्रो प्रदर्शन गर्ने टोली हो,’ उनले जोड दिए। प्रशिक्षक पोथसले तत्कालीन नतिजाभन्दा दीर्घकालीन संरचनागत सुधारलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। उनका अनुसार नेपाली क्रिकेट बलियो बनाउन तल्लो तहदेखि प्रतिस्पर्धात्मक संरचना आवश्यक छ।
‘खेलाडीमाथि प्रदर्शनको दबाब हुनुपर्छ। बाहिरबाट कोही ल्याउँदा उसले टोलीमा स्पष्ट मूल्य थप्नुपर्छ,’ उनले भने।
लगातार तीन हारपछि खेलाडीहरूको आत्मविश्वासबारे बोल्दै उनले हरेक खेलाडी फरक मानसिकताका हुने बताए। युवा खेलाडीका लागि यस्ता प्रतियोगिता सिकाइको अवसर हुने र सिनियर खेलाडीले फरक ढंगले दबाब व्यवस्थापन गर्ने उनको भनाइ छ। साथै, प्रशिक्षक र खेलाडीबीच खुला संवादले मात्र सुधार सम्भव हुने उनले उल्लेख गरे।
नेपालले सुपर–८ मा स्थान बनाउन नसके पनि स्कटल्यान्डविरुद्ध जित निकाल्दै सकारात्मक लयका साथ प्रतियोगिता टुंग्याउने लक्ष्य राखेको छ। आगामी एकदिवसीय शृंखलालाई ध्यानमा राख्दै टोलीले अन्तिम खेललाई तयारीको महत्वपूर्ण अवसरका रूपमा लिएको छ।






%20(1)-1771145193825.jpeg&w=3840&q=75)



-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)
