काठमाडौं । जसरी अहिले नेपाली फुटबलको माहोल तातिएको छ, धेरै कुराहरु बाहिर निस्किएका छन् । राम्रो खान, बस्न र आफ्नो आधारभुत सुविधाका लागि आवाज उठाउँदै गर्दा सिनियर खेलाडी राष्ट्रिय टिमबाट निकालिदा बहश सिर्जना हुनु स्वभाविकनै हो ।
क्लोज क्याम्पमा रोहित चन्दले खेलाडीको आवाज उठाएकै भरमा निकालिए पछि अन्य १० खेलाडीले पनि क्याम्प छोडे । स्पष्टीकरण दिनका लागि बिहीबार खेलाडीले पत्रकार सम्मेलन समेत गरे । पत्रकार सम्मेलन गर्दै उनीहरुले मुख्य प्रशिक्षक अब्दुलाह अलमुताईरीले बन्द प्रशिक्षण छाडेर जान भनेपछि आफुहरु प्रशिक्षण छाड्न बाध्य भएको बताएका थिए ।
पत्रकार सम्मेलनमा धेरै कुरा बहिर आउने क्रममा खेलाडीहरुले बिगत एक वर्षदेखि आफुहरु मानसिक दवाबमा रहेको र प्रशिक्षकद्धारा आफ्नो व्यक्तिगत जीवनमा समेत हस्तक्षप गरेको बताए । अन्तराष्ट्रिय फुटबलमा मनो स्वास्थ्यको कुरा आउने हो भने त्यो पक्कै ठुलो मुद्दा बन्ने थियो । तर, यहाँ भने बिषय केही हल्का र फरक रुपमा लिएको देखियो ।
‘कोचले हामीलाई मैदानभित्र मात्रै हैन, मैदान बाहिर पनि निकै नियन्त्रणमा लिन खोज्नु हुन्थ्यो ।’ नेपालका अनुभवी डिफेन्डर अनन्त तमाङले भने, ‘कसैको कपाल लामो भयो भने पनि उहाँलाई समस्या थियो, हातमा ट्याटु भए पनि समस्या, हामीले सामाजिक सन्जालमा समर्थकसँग बोल्दा पनि उहाँलाई समस्या थियो । हामीले हाम्रो व्यक्तिगत जीवनमा केही गर्नु छ भने पनि कोचको अनुमती बिना चल्न पाउँदैन थियौँ ।’
पत्रकार सम्मेलनमा खेलाडीहरु मानसिक रुपमा निकै कमजोर देखिन्थे ।
‘राष्ट्रिय टोलीको क्याम्पमा रहेको बेला पनि उनले हाम्रो कपाल भएन, मिलाईनस भने अहिले निकाल्दिन्छु, मसँग धेरै बिकल्प छन् भनेर सानो सानो कुरामा धम्की दिने गरेका थिए ।’ अनन्तले थपेका थिए ।
प्रशिक्षक अल्मुताईरीले खेलाडीहरुलाई सामाजिक सन्जालमा केही पोस्ट गर्न नदिने र प्रशिक्षक स्वयमले गरेको पोस्ट मात्रै सबैले सामाजिक सन्जालमा सेयर गर्नुपर्ने खेलाडीहरुले बताए । नेपालले मौरिसससँग खेल्नु अघि सबै खेलाडीको फेसबुक वालमा अब्दुल्लाहकै पोस्ट रहेको छ ।
‘हामी फुटबल सिजन सकिए पछि बिदामा रहदा पनि निगरानी हुन्थ्यो । हामीले कस्तो प्यान्ट लगायौँ, जिन्स ग्रन्ज प्यान्ट लगाएमा पनि उनलाई समस्या थियो ।’ मिडफिल्डर बिशाल राईले भने ।
उनले आफुहरु बिद्रोही खेलाडी भएर पीडित खेलाडी भएको बताएका थिए ।

पत्रकार सम्मेलनमा उपस्थित सबै १० खेलाडीले क्याम्पमा रहदा निकैनै मानसिक दवाब रहको र धेरै नै भए पछि कुरा गर्न जाँदा बारम्बार निस्किएर जा भने पछि क्याम्प छाडेको स्विकारे ।
देशका लागि लामो समय खेल्दै आएका खेलाडीले प्रशिक्षक मात्र हैन अहिले भने समर्थकको समेत दुर्व्यवहार खेप्नु परेको छ । खेलाडीमाथि अनलाइन दुर्व्यवहार भएको धेरै देखिएको छ । सामाजिक सन्जालका केही कमेन्टमा ‘डेथ थ्रेट’ समेत लेखिएको देखिन्छ ।
मैदानभित्र हुँँदा अलमुताईरीको दवाब र अब भने समर्थकको पनि यस्तो दुर्व्यवहारका कारण खेलाडीहरु निराश हुने त निश्चित छ र उनीहरुले झेलेको मानसिक दवाब र धम्कीबाट उनीहरुको करियरमै धक्का पुग्ने छ ।
अन्तराष्ट्रिय खेलाडीले मानसिक दबाब अथवा मनो रोगको बारेमा बोल्दा नेपाली समर्थकहरुले समर्थन गर्छन् । आज आफ्नै नेपाली खेलाडीहरु जुन अवस्थामा छन्, उनीहरुको कुरा नसुनेर अनलाईन अब्युज गरिरहेका देखिन्छ ।
देशका लागि धेरै वर्ष खेलिसकेका खेलाडीलाई अहिलेको अवस्थामा प्रश्न उठाउँदा ठुलो असर पर्ने गर्छ । बिशाल श्रेष्ठ १२ वर्षको उमेरदेखि एन्फा एकेडेमीमा रहेर राष्ट्रिय टोलीमा ११ वर्षसम्म रहे । उनलाई अहिले आफ्नै परिवारबाट ‘तिमी त भागौडा रे । हो ?’ भन्ने जस्ता प्रश्न आउने गर्छ ।
‘अहिले हाम्रो परिवारका सबैले सामाजिक सन्जाल चलाऊनु हुन्छ । मेरा आमा र बाबाले कमेन्टहरु पनि हेर्नु हुन्छ र त्यहाँ रहेको दुर्व्यवहारपूर्ण कमेन्टले हाम्रो मात्रै हैन, परिवारमा पनि असर गर्छ ।’ बिशाल श्रेष्ठले भने ।
मानसिक दवाबमा अहिले १० जनाको अनुहार देखिएपनि राष्ट्रिय टिममा रहेका सबै खेलाडी त्यसबाट पिडित भएको एक खेलाडीले बताए । राष्ट्रिय टोलीका मुख्य सदस्य अन्जन बिष्टले पनि पत्रकार सम्मेलनमा भनेका थिए, ‘अहिले हामी यहाँ जती देखिएका छौ, त्यही मात्र हैन । अहिले राष्ट्रिय टोलीमा भएका धेरैले हाम्रो जस्तै अवस्था भोगेका छन् ।’
१० जना खेलाडीले स्वतन्त्र रुपमा मानसिक दवाबको कुरा उठाउँदा मौन बसेको एन्फाले भविष्यमा आउने खेलाडीप्रति कस्तो व्यवहार गर्छ अहिले भन्न सकिदैन । खेलाडीले उठाएको यस्तो बिषय प्रशिक्षकको स्पष्टिकरण त आवश्यकनै छ । त्यस बाहेक आफ्नो खेलाडीको बचाउमा सधै उत्रने प्रशिक्षकले घरेलु समर्थकबाट खेलाडीमाथि गरिरहेका ‘अनलाइन अब्युज’ बारे नबोल्दा उनको नैतिकतामा पनि प्रश्न उठ्छ ।