काठमाडौं । आरसी ३२ फुटबल एकेडेमीले सहिद स्मारक 'सी' डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा सोमबार विरगंज युथ एकेडेमीलाई ३-१ गोल अन्तरले हराउँदै आरसी ३२ ले दोस्रो जित निकालेको हो ।
खेलको दोस्रो मिनेटमा बबिन बोहराले गोल गर्दै आरसी ३२ लाई सुरुआती अग्रता दिलाएका थिए ।
५६ औं मिनेटमा बृजेश चौधरीले गोल गर्दै विरगंजलाई १-१ को बराबरीमा ल्याए ।
६१ औं मिनेटमा आरसीका किश्मत लिम्बुले पेनाल्टीमा गोल गर्न सकेनन् ।
तर, ७१ औं मिनेटमा बबिनले व्यक्तिगत दोस्रो गोल गर्दै आरसी ३२ लाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८४ औं मिनेटमा विशाल पाण्डेले गोल गर्दै आरसी ३२ लाई ३-१ को जित दिलाए ।
जितसँगै आरसी ३२ ले २ खेलमा ६ अंक जोडेको छ ।
विरगंजको यो लगातार दोस्रो हार हो ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।