नवौं राष्ट्रिय खेलकुद पहिलो प्राथमिकता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
राखेपको सदस्य सचिवको जिम्मेवारीमा फर्किएपछि बुधबार घिसिङले आफ्नो पहिलो प्राथमिकतामा राष्ट्रिय खेलकुद रहेको बताएका हुन् । यसै आर्थिक वर्षमा नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि चाडै प्रदेश खेलकुदका सदस्य सचिवहरुसँग छलफल गर्ने उनले बताए ।
' राष्ट्रिय खेलकुद प्रतियोगिता मेरो पहिलो प्राथमिकतामा पर्छ । राष्ट्रिय खेलकुद प्रतियोगिता भनेको राष्ट्रिय विषयबस्तु हो,' सदस्य सचिव घिसिङले भने, 'म चाडै प्रस्ताव गर्न चाहन्छु र सायद केहि दिनमा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई प्रस्ताव गर्छु । यसै आर्थिक वर्षभित्र राष्ट्रिय खेलकुदको आशा गर्न सकिन्छ ।'
नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुनेछ । यस अघि फागुनमा हुने बताईएको थियो । तर, कोभिड-१९ को कारण प्रतियोगिता स्थगित भएको थियो ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठमा गर्ने बताउदै आएका थिए ।
तर, सदस्य सचिव घिसिङले बैशाखमा हुने स्थानीय तहको निर्वाचनले गर्दा जेठमा राष्ट्रिय खेलकुद आयोजना गर्न सकिनेमा आशंका व्यक्त गरे ।
'राष्ट्रिय खेलकुद फागुनमा हुनुपर्ने थियो,भएन । अब बैशाख ३० सम्म राष्ट्रिय खेलकुदमा जानै सक्दैनौं । तर राष्ट्रिय खेलकुदका लागि तयारीको पक्षहरु हामी गर्न सक्छौं,' उनले थपे, 'माननीय मन्त्री ज्युले विभिन्न प्रदेशका खेलकुद मन्त्रीसँग छलफल गर्नु भएको छ । अब सातै वटा प्रदेशका सदस्य सचिवहरुसँग सामूहिक छलफल गर्ने योजनामा छु ।निर्वाचनलगत्तै हामीले प्रतियोगिता गर्नका लागि छनोटको कामहरु, तालिमको कामहरु गर्न सकिन्छ ।'
राष्ट्रिय प्रतियोगिता आयोजना अघि खेलाडीलाई तयारीका लागि निश्चित समय आवश्यक हुने र त्यो पूरा भएपछि मात्र राष्ट्रिय खेलकुदमा खेलाडी लैजाने उनले बताए ।
'खेलकुदको एउटा युनिभर्सल ट्रुथ छ । यसको एउटा स्टान्डर्ड छ । खेलाडीलाई निश्चित समयसम ट्रेनिङ नगराई गराईएको प्रतियोगितालाई प्रतियोगिता मान्न सकिदैन । त्यसकुरामा विश्वास राख्छु । प्रतियोगिता गर्नका लागि गर्ने भन्दा पनि प्रतियोगिता अघि खेलाडीले न्यूनतम समय पाउछ त्यो उसले पाउनुपर्छ,' सदस्य सचिव घिसिङले थपे ।
सदस्य सचिव घिसिङले एसियन गेम्सको तयारीका लागि तुरुन्तै कामहरु अघि बढाउने बताए ।
'मेरो ओलम्पिक कमिटिसँग कुरा भईसकेको छ । छलफलको लागि भोलि नै बोलाएको छु । किनभने एसियाली खेलकुदको लागि राष्ट्रिय टिमको तयारी र गर्नु पर्ने कामहरुलाई तुरुन्तै अघि बढाउने छु,' उनले भने ।















-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)