'ठुलो स्टेजको लागि सुरुआत भईसकेको छ'

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी सिरिज जितेपछि नेपालका कप्तान सन्दीप लामिछानेले ठुला स्तरको प्रतियोगिताको लागि तयारी सुरु भएको बताएका छन् ।
सिरिजको फाइनलमा पपुवा न्युगिनीलाई पराजित गरेपछि सन्दीपले युवा टोलीबाट आशा गर्न सकिने बताएका हुन् ।
'टिम राम्रो आकारमा आउँदै छ । जब सम्म यो टिम रहने छ, सबैजनाले उत्तिकै योगदान गरेका छन् चाहे त्यो मैदान भित्र होस् या बाहिर, हामी सबै अहिले सिक्ने क्रममा छौं,' खेलपछि कप्तान सन्दीपले भने, 'राम्रो नतिजाहरु आउन समय पनि लाग्न सक्छ, यो निकै युवा टोली छ । हामीसबै जनासँग थोरै थोरै अनुभव भएपनि त्यति धेरै अनुभवी कोहि छैनौं ।'
सिरिजमा अपराजित रहँदै उपाधि उचालेको युवा टोलीबाट भविष्यमा ठुलो स्टेज (प्रतियोगिता) को लागि सुरुआत भएको सन्दीपले बताएका छन् ।
'नतिजाहरु पक्कै आउँछ, सबैजनालाई आग्रह गर्छु की आत्तिनु भएन । एक न एक दिन नतिजाहरु आउने छ, त्यो बिग स्टेजको लागि सुरुवात भैसकेको छ,' सन्दीपले थपे ।
सन्दीपको कप्तानीमा नेपालले सिरिज जितेको यो पहिलो पटक हो । यसअघि टी-ट्वान्टी सिरिजअघि नेपाल घरेलु मैदानमा पीएनजीसँग एकदिवसीय अन्तर्राष्ट्रियमा क्लिन स्विप भएको थियो ।
यस्तै सिरिज जित्नुमा सन्दीपले श्रेय सबै खेलाडीलाई दिएका छन् । उनले सबै खेलाडीको योगदानमा सिरिज जित्न सफल भएको र सबै खेलाडीले आफ्नो भूमिका निर्वाह गरेको कारण आफुलाई कप्तानीमा सहज भएको समेत बताए ।
'जितको श्रेय सबै खेलाडीलाई जान्छ किनभने उहाँहरुले चाहिएको समयमा आएर योजनाहरु कार्यन्वयन गर्नु भएको छ । त्यसले गर्दा मेरो काम सहज बनाएको छ र त्यसमा म निकै खुसी छु,,।' सन्दीपले थपे ।
फाइनलमा नेपालले पीएनजीलाई ५० रनले पराजित गर्दै उपाधि जितेको थियो । नेपालले घरेलु भूमिमा दोस्रो पटक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जित्न सफल भएको हो ।
गतवर्ष समेत नेपालले मलेसिया र नेदरल्याण्डविरुद्धको त्रिकोणात्मक सिरिज जितेको थियो ।












-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)