काठमाडौं । नेपाल पछिल्लो ६ महिनाबाट एकदिवसीय अन्तराष्ट्रियमा खराब लयमा देखिएको छ । नेपालले गत सेप्टेम्बरपछि ६ खेल खेल्दा मात्र एक खेलमा २ सय रन कटाउन सकेको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको युएईमा जारी सिरिजमा नेपालले खराब प्रदर्शनलाई कायम राख्दै खराब इतिहास बनाएको छ ।
सोमबार नेपालले इतिहासकै कमजोर प्रदर्शन गर्दै घरेलु टोली यूएईविरुद्ध सर्वाधिक कम स्कोर बनायो । यस सिरिजमा ब्याटिङ चुकिरहेको नेपालले खराब लयलाई निरन्तरता दिएको हो । नेपालले जारी सिरिज अघि यस्तो कमजोर ब्याटिङ कहिल्यै गरेको थिएन ।
पछिल्लो खेलमा नेपाल सामान्य लक्ष्य समेत पूरा गर्न सकेको छैन । युएईविरुद्ध ९९ रनले पराजित भएको खेलमा नेपालले २ सय ३ रनको लक्ष्य पछ्याउँदा १ सय ३ रनमा समेटिन पुग्यो ।
१० विकेट गुमाएर नेपालले बनाएको यो स्कोर एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको आफ्नो सबैभन्दा कम हो । यसअघि नेपालले यूएईविरुद्ध आफ्नो चौथो एकदिवसीय खेलमा १ सय १३ रन मा अलआउट भएको थियो ।
४ खेलका लागि यूएईमा रहेको नेपालले ३ खेल खेलिसकेको छ । पीएनजीसँग जित निकाल्न सफल नेपाल यूएईविरुद्ध दुवै खेलमा पराजित भयो । पराजितको मुख्य कारण नेपालको ब्याटिङ नचल्नु नै हो ।
पीएनजीविरुद्धको खेलमा नेपालले २ सय ५ रनको लक्ष्य पछ्याउँदा २ सय ८ रन बनाएर जित निकालेको थियो । त्यसबाहेकका पछिल्ला ५ खेलमा नेपालले २ सय रन कटाउन सकेको छैन । नेपालका ब्याटर समेत यूएईमा पूर्ण रुपमा फ्लप देखिएका छन् ।
यूएईको मैदानमा नेपालका ब्याटर मैदानमा टिक्न समेत सकेका छैनन् । ओपनर कुशल भुर्तेल ३ खेलमा २९ बल मात्र सामना गर्न सकेका छन् भने उनले १७ रन बनाएका छन् । अर्का ओपनर आसिफ शेख ३ खेलमा २३ रन बनाउँदा ५२ बल सामना गरेका छन् । अनुभबी ज्ञानेन्द्र मल्ल ३ खेलमा १ सय ३३ बल खेल्दै ६२ रन बनाएका छन् ।
भरपर्दा दिपेन्द्र सिंह ऐरीले ३ खेलमा जम्मा १२ बनाउन सकेका छन् । लयमा देखिएका रोहित पौडेल जारी सिरिजमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन् । उनले ३ खेलमा १ अर्धशतक सहित १ सय १५ रन बनाएका छन् ।
यस्तै बिनोद भण्डारी २ खेलमा मात्र ४१ बल खेल्दै २३ रन, आरिफ शेख २ खेलमा १ सय २६ बलमा ६४ रन, सोमपाल कामी ३ खेलमा २९ रन बनाउन ६० बल खेलेका छन् । पवन एक खेलमा मात्र ४ बल टिक्न सके ।
नेपाल यस सिरिजमा १ सय १९ ओभर ४ बल मात्र मैदानमा ब्याटिङ गर्न सकेको छ । जसमा नेपालले ३१ ओभर लगभग १ खेलको आधा इनिङ खेर फालेको छ । ७ सय १७ बल सामना गरेका नेपालका ब्याटरले ४ सय ३१ रन बनाउन सफल भएका छन् ।
नेपालले खेली रहेको यो सिरिज सन् २०२३ को आईसीसी विश्वकप छनोट खेलको ढोका हो । ७ राष्ट्र सहभागी यस लिगमा शीर्ष तीन राष्ट्रले सोझै विश्वकप छनोटमा स्थान बनाउने छन् । खराब लयमा देखिएको नेपाल लिगको पुछारबाट दोस्रो स्थानमा छ ।