काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युएईसँग लगातार दोस्रो हार व्यहोरेको छ ।
दुबई क्रिकेट रंगशालामा सोमबार भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो ।
युएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय ३ रनमा समेटियो।
नेपालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक कम स्कोर हो ।
खराब सुरुआत गरेको नेपालका आसिफ शेखको स्थानमा आएका ओपनर पवन सर्राफ खेलमा जम्न सकेनन् । उनी मात्र २ रन बनाएर पेभिलियन फर्किए । यस्तै अर्का ओपनर कुशल भुर्तेल लगातार तेस्रो खेलमा खराब प्रदर्शनलाई निरन्तरता दिंदै ५ रनमा आउट भए ।
दिपेन्द्र सिंह ऐरी गोल्डेन डक आउट हुँदा नेपालले ३ ओभर नसकिंदै ८ रनमा महत्वपूर्ण ३ विकेट गुमाउन पुगेको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक रन बनाए । उनले ६५ बल खेल्दै २ चौकाको मद्दतमा ३० रन बनाए ।
अघिल्ला दुई खेलमा लयमा देखिएका रोहित पौडेल आज ९ रनमा आउट हुँदा नेपालको ब्याटिङ धरापमा परेको थियो।
आरिफ शेखले ४० बलमा १५ र जोड्दा विनोद भण्डारी दुर्भाग्यवस १२ रनमा आउट भए । सोमपाल कामीसँग दोस्रो रनको लागि तालमेल नमिल्दा बिनोद सहज रनआउट भए ।
करन केसी ४ रनमा आउट हुँदा बिक्रम सोबले १ रन बनाए । सन्दीप लामिछाने बलनै नखेली अविजित रहे ।
सोमपालले १५ रन बनाएर पेभिलियन फर्किए ।
यूएईका जुनाइद सिद्दिकीले ४ विकेट लिए । यस्तै कासिफ दौद र अहमेद राजाले समान २/२ विकेट लिए ।
त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २ रन जोडेको थियो ।
युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए ।
ओपनर मुहम्मद रिजवानले ३३ रन, चिराग सुरीले २६ रनको योगदान गरे ।
भृत्या अरविन्दले २४ रन बनाउँदा बसिल हमिद १७ रनमा आउट भए ।
करण केसी र सोमपाल कामीले समान २/२ विकेट हात पारे ।
आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
अब नेपालले भोलि मंगलबार पीएनजीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
लिग टु मा नेपालले ११ खेलमा १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
यूएई भने १८ खेलमा २२ अंकका साथ दोस्रो स्थानमा छ ।