काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले भोलि सोमबार यूएईको सामना गर्दैछ ।
दुबई क्रिकेट रंगशालामा नेपालले तेस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो । युएई र नेपालबीचको खेल बिहान ११:१५ बजे सुरु हुनेछ ।
आज युएईलाई हराउँदै नेपाल सिरिजमा दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो । तर, दोस्रो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो ।
यता, युएई सिरिजको आफ्नो अन्तिम खेलमा तेस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा युएईले पीएनजीलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाललाई हराएको युएई पीएनजीसँग तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो ।

यूएई र नेपाल एसोसियट राष्ट्रका चिरपरिचित प्रतिद्वन्दी हो । नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियमा ५ पटक आमनेसामने भएका छन् । जसमा नेपालले २ पटक जित्दा यूएई ३ पटक विजयी भएको छ ।
सन् २०१९ मा नेपालले यूएईलाई पराजित गर्दै ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय सिरिज जित्न सफल भएको थियो । तीन खेलको सिरिजमा पहिलो खेलमा पराजित भएपनि नेपालले बाँकी २ खेलमा कमब्याक गर्दै ऐतिहासिक सिरिज जितेको थियो ।
विश्वकप समेत खेलिसकेको यूएई पछिल्लो समय एसोसियट राष्ट्रको पावर हाउसको रुपमा स्थापित हुँदै छ । गत महिना ओमानमा भएको आईसीसी टी-ट्वान्टी विश्वकप छनोटमा समेत नेपालको लागि यूएई तगारो बनेको थियो ।
त्यसैले नेपाल टी-ट्वान्टी विश्वकप छनोटको बदला यूएईविरुद्ध उसैको घरमा लिने प्रयासमा रहने छ ।
गत महिना ओमानमा शानदार प्रदर्शन गरेको यूएई घरेलु भूमिमा खासै प्रभाब जमाउन सकेको छैन ।
यता नेपाल भने ब्याटिङमा संघर्षरत छ । ब्याटिङमा संघर्षरत नेपाल अघिल्लो खेलमा यूएईले दिएको सामान्य लक्ष्य भेट्टाउन सकेको थिएन ।
लिग टु मा कुल ७ टिम सहभागि रहेका छन् ।
नेपालले १० खेलमा ५ जित निकाल्दै १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
यूएई भने १७ खेलमा ९ जित निकाल्दै २० अंकका साथ दोस्रो स्थानमा छ ।