काठमाडौं । ए डिभिजन क्लबको चर्को विरोधका कारण अनिश्चित बनेको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) पूर्व निर्धारित समयमै हुने भएको छ ।
आफुसँग सम्झौतामा रहेका खेलाडीलाई एनएसएलका क्लबले प्रक्रिया पुरा नगरी अनुबन्धन गरेपछि रुष्ट रहेका ए डिभिजनका क्लबको विरोधले चैतको अन्तिम साता आयोजना गर्ने तयारी गरिएको एनएसएल अनिश्चित बनेको थियो ।
बुधबार एन्फा हेडक्वार्टरमा बसेको कार्यसमिति बैठकले एनएसएललाई पूर्व निर्धारित समयमै आयोजना गर्ने गरि अघि बढाउने विषयमा औपचारिक सहमती जुटाएको छ । यद्धपी क्लबहरुले उठाएका मागलाई सम्बोधन गर्न त्रिपक्षिय छलफल गरेर टुङ्गोमा पुर्याउने सहमती बनेको छ ।
‘ए डिभिजनका क्लब, एन्फा र एनएसएल बसेर सहमती खोज्ने र पूर्व निर्धारित समयमै एनएसएल आयोजना गर्ने सहमती भएको छ ।’ एन्फाका एक पदाधिकारीले खेलपाटीसँग भने ।
चौधरी ग्रुप स्वामित्वको नेपाल स्पोर्टस इभेन्ट एण्ड म्यानेजमेन्ट कम्पनीको आयोजना रहने एनएसएल चैत २६ देखि जेठ ७ गतेसम्म सञ्चालन गरिने बताईएको थियो ।
तर क्लबहरुको विरोधका कारण एनएसएल निर्धारित समयमै हुनेमा आशंका उत्पन्न भएको थियो ।
ए डिभिजनका क्लबले चैतसम्म धेरै खेलाडीसँग सम्झौता रहेका कारण एनएसएल भदौंमा सार्न सुझाव दिएका थिए ।
क्लबसँग दुरी बढाउन नहुने पक्षमा रहेको एनएसएल समेत भदौंमा प्रतियोगिता आयोजना गर्ने तयारी गरेको थियो ।
तर बुधबारको एन्फा बैठकपछि एनएसएलको दोस्रो संस्करण चैतमा हुने देखिएको छ । तर प्रतियोगिता सुरु हुनु अघिनै क्लबको मुद्धालाई सम्बोधन गर्ने सहमती एन्फा बैठकमा बनेको छ ।
एन्फा कार्यसमिति बैठकमा एनएसएलको एजेण्डा समावेश थिएन । तर पछिल्लो समय विवादित बनेको विषयमा एन्फा कार्यसमिति सदस्यले धारणा राखेका थिए । कार्यसमितिका अधिकांश सदस्यले फुटबल विकासका लागि सुरुवात गरिएको एनएसएललाई अवरोध पुर्याउन नहुने तर क्लबको माग सम्बोधन गर्नुपर्नेमा धारणा राखेका थिए ।
बैठकमा सहमती उन्मुख देखिएको क्लबको मागलाई सम्बोधन गर्ने र प्रतियोगिता पूर्व निर्धारित मितिमै सञ्चालन गर्नेमा सहमती जुटेको हो ।
एनएसएलको गतिविधिलाई लिएर ए डिभिजनका मनाङ, थ्रीस्टार, संकटा र एनआरटीले विरोध गरेका थिए । यसमा गम्भिर बनेर पहलकदमी लिन चार क्लबले एन्फाको गम्भिर ध्यानाकर्षण गराएका थिए । केहीदिन यता एन्फा, असन्तुष्ट क्लब र एनएसएलका अधिकारी निरन्तर छलफलमा छन् ।
एनएसएलको दोस्रो संस्करणमा १० टिमले खेल्नेछन् । यस पटक तीन टिम थप गर्दै एनएसएल खेल्ने टिमको संख्या १० पुर्याईएको हो । पहिलो सिजन काठमाडौंमा सिमित बनेको एनएसएललाई यस सिजन पोखरा लैजाने आयोजकको बताएको छ ।