पाँचौं सिजन उपाधि विहीन युनाईटेड

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड पाँचौं वर्ष उपाधि विहीन बनेको छ ।
च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएपछि युनाईटेड पाँचौं सिजन उपाधि विहीन भएको हो ।
मंगलबार राति स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग १-० ले पराजित भएपछि युनाईटेड समग्रमा २-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
युनाईटेडको लागि उपाधि आशा च्याम्पियन्स लिगमा मात्र बाँकी रहेको थियो । तर, युनाईटेडको त्यो आशा समेत सकिएको छ ।
युनाईटेड प्रिमियर लिगको पाँचौं स्थानमा रहेको छ । र, उपाधि होड भन्दा बाहिर रहेको छ ।
यस्तै युनाईटेड एफए कपबाट बाहिरिसकेको छ । काराबाओ कपमा समेत युनाईटेड तेस्रो चरणबाट बाहिरिएको थियो।
युनाईटेडले पछिल्लो पटक २०१७ मा युरोपा लिगको उपाधि जितेको थियो । त्यसपछि युनाईटेड उपाधि जित्न सकेको छैन ।
यस्तै युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि पहिलो पटक उपाधि विहीन बनेका छन् ।













