एट्लेटिकोसँग पराजित युनाईटेड बाहिरियो
मंगलबार, ०१ चैत्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ ।
अन्तिम १६ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १-० ले पराजित भएपछि समग्रमा २-१ को हार व्यहोर्दै युनाईटेड बाहिरिएको हो ।
स्पेनमा भएको पहिलो लेगमा युनाईटेड र एट्लेटिकोले १-१ गोलको बराबरी खेलेका थिए । तर, घरेलु लेगमा युनाईटेड पराजित भयो ।
ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जित दिलाउन रेनान लोडीले निर्णायक गोल गरे । उनले एन्टोनियो ग्रीजम्यानको पासमा ४१ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ ।
पोर्चुगिज क्लब बेन्फिका पनि अन्तिम आठमा प्रवेश गरेको छ ।
अन्तिम १६ को दोस्रो लेगमा आयाक्सलाई १-० ले हराउँदै बेन्फिकाले समग्रमा ३-२ को जित निकाल्यो ।
युनाईटेड च्याम्पियन्स लिगबाट बाहिरियो













