नेपालगन्ज । बिमल बस्नेतले दुई गोल गरेपछि न्यु डाँफे स्पोर्टस क्लब बाँके जिल्ला लिग फुटबल च्याम्पियन बनेको छ ।
नेपालगन्ज रंगशालामा मंगलबार भएको फाइनल खेलमा न्यु डाँफेले युनाइटेड युथ क्लबलाई ३–१ ले हरायो । न्यु डाँफेको जितमा बिमल बस्नेतले २ गोल र प्रेम सुनारले १ गोल गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत भएका बिमलले खेलको २३औं र ५७औं मिनेटमा गोल गरेका थिए । न्यु डाँफेका प्रेम सुनारले ७१औं मिनेटमा गोल गरे । युनाइटेडका लागि विभुषण केसीले पहिलो हाफको इन्जुरी समयमा (४१औं मिनेट) गोल गरेका थिए ।
विजेता न्यु डाँफेले ३१हजार नगर, मेडल, ट्रफी र प्रमाणपत्र तथा उप–विजेता युनाइटेडले २१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
विजयी खेलाडीलाई नेपालगन्ज उप–महानगरपालिका मेयर डा. धवल समशेर राणा, उप–मेयर उमा थापामगर, भैरव प्रसाद गण इमाम नगर ब्यारेक राझाँका गणपति प्रमुख सेनाली जनमत कार्की, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, जिल्ला खेलकुद विकास समिति अध्यक्ष मोहित शाह, बर्दिया जिल्ला फुटबल संघका अध्यक्ष अजित राज भण्डारी, लुम्बिनी प्रदेश खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, नेपाल उद्योग वाणिज्य संघका निर्वतमान केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ,बाँके बर्दिया मैत्री समाजका उपाध्यक्ष बिनोद वली लगायतले पुरस्कृत गरेका थिए ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बिमललाई प्रमुख सेनानी कार्कीले व्यक्तिगत रुपमा २ हजार ५ सय पुरस्कार दिएका थिए ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा भएको जिल्ला लिगमा बाँकेका ११ क्लबले भाग लिएका थिए । जिल्ला लिगको विजेता न्यु डाँफेले लुम्बिनी प्रदेश स्तरको लिग फुटबलमा बाँकेको प्रतिनिधित्व गर्नेछ ।