काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग अन्तर्गत सरस्वती युथ क्लबले तेस्रो जित हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा मंगलबार भएको खेलमा मध्यपुर युथ एसोसियसनलाई २–१ गोल अन्तरले पराजित गर्दै सरस्वतीले तेस्रो जित हात पारेको हो ।
जितसँगै ५ खेलबाट ११ अंक जोडेको सरस्वती लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सरस्वतीले दुई खेलमा बराबरीको नतिजा निकालेको थियो ।
चर्च ब्वाईज र श्री भगवती क्लबले समान १० अंक जोडेपनि दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
यता ५ खेल खेलेको मध्यपुरको यो चौथों पराजय हो । एक खेल जितेको मध्यपुरको तीन अंक भएपनि उ तालिकाको पुछारमा रहेको छ ।
सरस्वतीलाई जित दिलाउन सुनम धिमाल र कुमार डोंगले एक–एक गोल गरे ।
मध्यपुरका लागि एकमात्र गोल सजिन थापा मगरले गरे ।
खेलको ४५औं मिनेटमा गोल गर्दै सनम धिमालले सरस्वतीलाई अग्रता दिलाए ।
५१ औं मिनेटमा भने मध्यपुरले सजिन थापा मगरको गोलको मदतमा खेलमा फर्किएको थियो ।
तर दोस्रो हाफको इन्जुरी टाइममा कुमार डोंगले गोल गर्दै सरस्वतीको जित सुनिश्चित गरे ।