इलाम । झापा गोल्डकपको फाइनल खेल सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र झापा–११ बीच हुँदैछ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा आर्मी उपाधि रक्षा अभियानका साथ मैदान उत्रदा झापा घरेलु मैदानमा पहिलो उपाधि जित्न चाहन्छ ।
झापाले सेमिफाइनलमा संकटालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने आर्मीले सेमिफाइनलमा सातदोबाटोलाई हराएको थियो ।
आइतबार बिर्तामोडस्थित होटल दि किङ्सबरीमा भएको प्रि म्याच प्रेस कन्फ्रेन्समा दुवै टोलीले जित्ने रणनीतिका साथ मैदानमा उत्रने बताएका छन् ।
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरे । उनले झापामा कलेक्टिभ खेलाडी रहेका कारणम पनि जित निकाल्न सहज हुने बताए ।
झापा–११ का प्रशिक्षक सन्तोष गुरुङले झापामा स्टार खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताए । उनले चारपटकसम्म झापाले उपविजेतामा चित्त बुझाएकाले यसपटक जित निकाल्ने बताए ।
यसअघि तीनपटक आर्मीले झापा गोल्डकपको उपाधि जितेको छ । आर्मीले ३ वटै संस्करणमा झापाको चुनौती पन्छाउँदै उपाधि जितेको हो ।
अघिल्लो संस्करणको समेत उपाधि जितेको आर्मीका लागि घरेलु टोली घातक सावित हुन सक्छ ।
झापाले भने चारपटक नै उपविजेतामा चित्त बुझाएको हो । उसले दोश्रो संस्करणमा मनाङ मस्र्याङदीसंग पराजित बनेको थियो ।
अन्य संस्करणमा आर्मी बाधक बन्यो । पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले बताए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् ।
उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।
विशाल राई ‘ए’ लाई लाइफटाइम अचिभमेन्ट
झापा गोल्डकपले यसपटक झापा–११ का खेलाडी विशाल राई ‘ए’लाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिने भएको छ ।
उनले एक थान मोटरसाइकल पाउने आयोजक समिति अध्यक्ष बस्नेतले बताए ।