काठमाडौं । ठूला नाम चलेका खेलाडीलाई अनुबन्ध गर्दैमा मात्र कहाँ फुटबलमा सफलता हात पार्न सकिन्छ । मुख्य कुरा त व्यवस्थापन हो । जति बेला व्यवस्थापन ठीक ढंगले हुन्छ, प्राप्त हुने सफलता मछिन्द्रको जस्तो हुन्छ । सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ को उपाधि मछिन्द्रले जित्ने त यसअघि नै तय भइसकेका थियो, तर आफ्नो अन्तिम खेलमा उसले एपीएफलाई हराएर पूरा प्रतियोगितामै आफ्नो अपराजित यात्रा कायम गरेको छ । लिगका पूरा १३ खेलमा अपराजित रहनु आफैमा कहाँ सानो उपलब्धी हो र ?
त्यसमाथि पहिलो र अन्तिम खेललाई छाडेर बीचका ११ खेलमा क्लिन सिट राखेको कीर्तिमान । अझ यो मछिन्द्र भन्ने टिमले त हार्न बिर्सेको छ, पछिल्ला १९ खेलमा अपराजित छ । लिगमा मछिन्द्र नहारेको पनि दुई वर्ष भन्दा बढी समय भइसकेको छ । अझ फेरि मछिन्द्रले दोस्रो स्थानमा रहेको आर्मीमाथि १२ अंकको अग्रता कायम राखेको छ, जुन १३ चरणको लिगमा अकल्पनीय छ । यस्ता ठूला साना अनेक तथ्य छन्, जसको आधारमा भन्नु पर्छ, मछिन्द्रले यसपल्ट निकै सुमधर ढंगले लिग उपाधिको रक्षा गरेको छ ।
लिगको ११ औं चरणमै लिग जितिसकेको स्थितिमा यति पनि मज्जाले भन्न सकिन्छ, मछिन्द्रलाई उपाधि होडमा कसैले ठोस चुनौती नै पेस गर्न सकेन् । प्रशिक्षक प्रवेश कटुवालले ठीकै भने, ‘हामी टिमले मात्र राम्रो बनाएनौं, त्यसको ठीक व्यवस्थापन पनि गर्यों ।’ यहाँनिर व्यवस्थापक अनिल श्रेष्ठलाई पनि सम्झनु पर्ने हुन्छ । एकपल्ट त्यस्तो स्थिति आएको थियो, जति बेला मछिन्द्रमा फुटबल नै खेल्न छाड्न बहस भएको थियो । तर अहिले मछिन्द्र नेपाली घरेलु फुटबलको महाशक्ति भएको छ ।
पारम्परिक तीन शक्ति मनाङ मर्स्याङ्दी, थ्री स्टार र पुलिसको प्रदर्शन खस्किरहेको बेला मछिन्द्रको यो छलाङ लामै समय टिक्न सक्छ । पर्दा पछाडिबाट टिम जसरी सम्हालिएको थियो, मछिन्द्रको अहिलेको सफलताको मूल सूत्र त्यही रह्यो । अनि मैदान भित्र यसपल्टको लिगमा मछिन्द्रको यति धेरै सुदृढ प्रदर्शन कसरी सम्भव भयो त ? यसका स्पष्ट दुई कारण छन् । पहिलो हो, ठोस रक्षापंक्ति । पूरा लिगमा दुई गोल खानु आफैमा दुर्लभ प्रदर्शन हो ।
खेल अग्रपंक्तिले जितिन्छ, लिग रक्षापंक्तिले जितिन्छ भनेर त्यसै भनिएको होइन् । यसको लागि ठूलो श्रेय गोलरक्षक विशाल श्रेष्ठ र डिफेन्सका रंजित धिमाल, देवेन्द्र तामाङ, छिरिङ गुरुङ र ओमोराजा नुरेनलाई जानु पर्छ । दोस्रो कारण हो, निर्णायक समयमा गोल । मछिन्द्रका पाँच जित १–० को रह्यो र त्यसमा पनि सबैभन्दा ठूलो जित त मनाङविरुद्ध छैटौं चरणमा प्राप्त खेल नै रह्यो । मछिन्द्रले चाहिएको बेला निर्णायक मोडमा गोल गर्न सफल रह्यो ।
मनाङविरुद्ध सुनिल बलले दोस्रो हाफको इन्ज्युरी समयमा फ्रि किकबाट गोल गरेका थिए र यहींबाट लिग आफैले पनि निर्णायक मोड लिएको थियो, त्यस चरणदेखि पहिलो स्थानमा रहेको मछिन्द्रले पछाडि फर्केर हेर्नु परेन् । तिनै सुनिलले पुलिसविरुद्ध, नोलार्न नोभरुजोभले सातदोबाटोविरुद्ध र सुजलले थ्री स्टारविरुद्ध निर्णायक गोल गरे । विमल घर्मिमगरले पनि सम्झनालायक पुर्नआगम रचे, चोटबाट मुक्त भएर । अनि विदेशी खेलाडीमध्ये मध्यपंक्तिमा आन्द्रेस निआ पनि उत्तिकै प्रभावशाली रहे ।
तथ्यांकमा मछिन्द्र
कुल खेल : १३
अंक जोडेको : ३५
गोल गरेको : २०
गोल खाएको : २
गोल गर्ने खेलाडी : सुनिल बल (६), विमल घर्मिगमर (४), नोर्लान नोभरुजोभ (२), रेजिन सुब्बा (२), रंजित धिमाल (१), अभिषेक रिजाल (१), सुजल श्रेष्ठ (१), अभिषेक गुरुङ (१), आत्मघाती गोल (२)
विना सब्टिच्युट सबै खेल खेल्ने खेलाडी : २ (देवेन्द्र तामाङ र विशाल श्रेष्ठ)
प्रतियोगितामा उतारेको कुल खेलाडी संख्या : २३
(विशाल राई, रंजित धिमाल, सुनिल बल, अभिषेक रिजाल, देवेन्द्र तामाङ, विशाल श्रेष्ठ, आन्द्रेस निआ, छिरिङ गुरुङ, सुजल श्रेष्ठ, नोर्लान नोभरुजोभ, ओमोराजा नुरेन, मनीष डांगी, विमल घर्तिमगर, उत्सव राई, अविज्ञान प्रधान, प्रमोद चौधरी, दिलेन लोक्तान, अभिषक गुरुङ, बुद्ध चेम्जोङ, सोनाम भुटिया, रेजिन सुब्बा, मिलन धिमाल र विजय धिमाल ।