इलाम । इलाममा जारी प्रथम देउमाई गोल्डकपको सेमीफाइनल समिकरण पूरा भएको छ ।
पाँचथरको फिदिम स्पोर्टिङ क्लबले मंगलबार जित निकालेसँगै प्रतियोगिताको सेमीफाइनलमा भिड्ने टिम पक्का भएको हो ।
उपाधिको दाबेदार मानिएको मोरङको डाँगीहाट एफसीलाई फिदिमले २–१ गोलअन्तरमा हराउँदै सेमीफाइनलमा स्थान बनाउन सफल भएको छ । १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै फिदिम भाग्यमानी सावित बन्यो ।
फिदिम अन्तिम १५ मिनेट १० खेलाडीमा सीमित बनेका थिए । खेलमा सुरुवाती अग्रता डाँगीहाटले लिएको थियो । पहिलो हाफको १७औँ मिनेटमा प्रवेश कटुवालले डाँगीहाटलाई सुरुवाती अग्रता दिलाएका थिए । करिब २५ यार्डबाट प्रहार गरेको बल सोझै गोलपोस्टमा लाग्दै गोलमा परिणत भएको थियो ।
पहिलो हाफमा १–० ले पछि परेको फिदिम दोस्रो हाफमा लयमा फर्कियो । दोस्रो हाफको ५औँ मिनेटमा फिदिमका कप्तान गजेन्द्र राईले पेनाल्टीमार्फत गोल गरेर बराबरी गरेका थिए । डाँगीहाटका खेलाडीले डिबक्सभित्र ह्याण्ड गरेपछि फिदिमलाई पेनाल्टीको अवसर मिलेको थियो ।
यसैबीच, दोहोरो पहेँलो कार्डपछि रातो कार्ड पाउँदै फिदिमका मनिष क्षेत्री मैदान छाड्न बाध्य बने । दोस्रो हाफको १५औँ मिनेटमा फिदिम १० खेलाडीमा समेटिएको थियो ।
रोमाञ्चक खेलमा गजेन्द्र राईले व्यक्तिगत दोस्रो गोल गर्दै सेमिफाइनमाल स्थान सुरक्षित गरे । खेलको २२औँ मिनेटमा पाएको कर्नर प्रहारमा उनले हेडरमार्फत गोल गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित भए ।
युनाइटेड देउमाई युथ क्लब मंगलबारेको आयोजनामा जारी प्रतियोगितामा ८ टिम सहभागी छन् ।
भोलि (बुधबार) पहिलो सेमिफानल खेल हेलिबोथ एफसी बिब्ल्याँटे र ओएसिस एफसी इलामबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख र ट्रफी पाउनेछ ।