काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको विभागीय डर्बी भिडन्त १-१ गोलको बराबरीमा सकिएको हो ।
रोमान्चक बनेको खेलमा सुरुआती अग्रता भने पुलिसले बनाएको थियो । तर, पुलिसले अग्रता जोगाउन सकेन ।
पुलिसका सुमन लामाले एक गोल गरे । एपीएफका प्रदिप लामाले बराबरी गोल फर्काए ।
खेलको पहिलो मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।
एपीएफका डिफेन्डर एडमा डोम्बियाले गोलकिपर युया कुरियामा पोजिसन भन्दा बाहिर रहेको अवस्थामा क्लियर गरेको बल नियन्त्रणमा लिदै उनले सहजै गोल गरे ।
खेलको ४१ औं मिनेटमा प्रदिपले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा ल्याए । पुलिसका डिफेन्डरले क्लियर गरेको बलमा पेनाल्टी क्षेत्र बाहिरबाट उनले उत्कृष्ट गोल गरे ।
त्यसअघि खेलको २७ औं मिनेटमा पुलिसका रबि पासवानको प्रहार एपीएफका गोलकिपर कुरियामाले मुश्किलले बचाएका थिए।
त्यस्तै खेलको ७३ औं मिनेटमा एपीएफका आशिष लामाको प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले मुश्किलले जोगाए ।
यस बराबरीसँगै पुलिसले १२ खेलमा १२ अंक जोडेको छ । पुलिस ११ औं स्थानमा रहेको छ ।
एपीएफले १२ खेलमा १५ अंक जोडेको छ । एपीएफ आठौं स्थानमा रहेको छ ।