इलाम । इलाममा जारी प्रथम देउमाई गोल्डकपमा आयोजक युनाइटेड देउमाई युथ क्लबलाई पराजित गर्दै हेलिबोथ एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्थानीय भानुभक्त माविको छात्रावास खेल मैदानमा तेस्रो क्वाटरफाइनल खेलमा आयोजकलाई टाइब्रेकरमा पराजित गर्दै हेलिबोथले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलको निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।
टाइब्रेकरमा ३-१ गोलअन्तरले हेलिबोथ विजयी भएको हो । खेलको सुरूवाती अग्रता हेलिबोथले लिएको थियो । खेलको ११औँ मिनेटमा दिवस राईले गोल गरेका थिए । लगत्तै आयोजकका हेमसागर राईको प्रहारलाई गोल पोस्ट नजिकै अनमार्क रहेका रोहित राई सिधै हातले रोकेपछि रेड कार्ड पाउँदै हेलिबोथ १० खेलाडीमा सीमित बन्न पुगेको थियो ।
आयोजकले पाएको पेनाल्टी प्रहारमा हेमसागर राई चुकेपछि खेलमा फर्किन खेलको अन्तिम समय पर्खिनु परेको थियो । इन्जुरी समयमा सम्हालिन नसक्दा होलिबोथले जित निकाल्न टाइब्रकेरको सहारा लिनु पर्यो ।
आयोजकका लागि इन्जुरी समयमा प्रविन राईले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच हेलिबोथका गोलरक्षक पुजन गुरुङ घोषित भए ।
८ टिम सहभागी प्रतियोगितामा मंगलबार पाँचथरको फिदिम स्पोर्टिङ क्लब र मोरङको डाँगीहाट एफसीबीच खेल हुनेछ । फागुन १४ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख पाउनेछ ।