काठमाडौं । ब्रिगेड ब्वाइज क्लब कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ।
सोमबार भएको खेलमा सातदोबाटो युथ क्लबसँग ३-२ गोल अन्तरले पराजित भएपछि ब्रिगेड रेलिगेसनमा परेको हो।
ब्रिगेड तेस्रो पटक रेलिगेसनमा परेको हो । यस अघि २०६३ र ६८ सालमा ब्रिगेड रेलिगेसनमा परेको थियो ।
ब्रिगेड रेलिगेसनमा परेपछि सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीले आफुलाई दुख लागेको बताए ।
प्रशिक्षक केसीले आफैले खेलेर ए डिभिजनमा ल्याएको टिम आफ्नै टिमसँग पराजित हुँदै घटुवा भएकोमा खल्लो लागेको बताए ।
'हामीसँग खेलेर हारेपछि कुनैपनि टिम रेलिगेसनमा पर्दा दुख लागेको छ । म आफै खेलेर ए डिभिजनमा ल्याएको थिए,' प्रशिक्षक केसीले भने, 'त्यसैले जितमा खुशी हुन् सकेको छैन तर जितका लागि खेल्नु पर्छ । आज खल्लो अनुभव भएको छ ।'
ब्रिगेड २०६० सालको बी लिगबाट ए डिभिजनमा बढुवा भएको थियो । उक्त सिजन केसीले ब्रिगेडबाट बी लिग खेलेका थिए ।