काठमाडौं । ब्रिगेड ब्वाइज क्लब कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ।
सोमबार भएको खेलमा सातदोबाटो युथ क्लबसँग ३-२ गोल अन्तरले पराजित भएपछि ब्रिगेड रेलिगेसनमा परेको हो।
ब्रिगेड यस सिजन रेलिगेसनमा पर्ने दोस्रो टोली हो । यस अघि च्यासल युथ क्लब रेलिगेसनमा परिसकेको छ ।
ब्रिगेड तेस्रो पटक रेलिगेसनमा परेको हो । यस अघि २०६३ र ६८ सालमा ब्रिगेड रेलिगेसनमा परेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटोलाई जित दिलाउन सुशील राई, दिपक राज सिंह ठकुरी र निरज चौधरीले एक एक गोल गरे ।
ब्रिगेडका बेर्टराण्ड इबोडे ओट्टोउ र रोशन राना मगरले एक एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक बनेको खेलको १३ औं मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । कप्तान मान बहादुर तामाङको क्रसमा बक्स बाहिरबाट दौडर आएर सुशीलले उत्कृष्ट गोल गरे ।
तर, खेलको १६ औं मिनेटमा बेर्टराण्डले गोल गर्दै ब्रिगेडलाई १-१ गोलको स्थितिमा ल्याए । पेनाल्टी बक्स भित्र प्रशान्त तामाङले उपलब्ध गराएको बलमा उनले गोल गरे ।
खेलको १८ औं मिनेटमा दिपकले गोल गर्दै सातदोबाटोलाई २-१ को अग्रता दिलाए । मार्टिन्स अजयीको हेडर पासमा दुई डिफेन्डर र गोलकिपर गुरप्रित सिंहलाई बिट गर्दै उनले सहज गोल गरे ।
खेलको ५१ औं मिनेटमा रोशनले गोल गर्दै ब्रिगेडलाई २-२ गोलको बराबरीमा ल्याए । दोर्जे तामाङको हेडर सातदोबाटोका गोलकिपर अविशेकले रोकेपछि आएको रिबाउन्डमा रोशनले गोल गरेका हुन् ।
त्यसपछि खेलको ८७ औं मिनेटमा निरजले गोल गर्दै सातदोबाटोलाई ३-२ को जित दिलाए । सुदिप गुरुङको पासमा उनले उत्कृष्ट गोल गरे ।
यस्तै खेलको ३२ औं ब्रिगेडका रोशनको प्रहार सातदोबाटोका गोलकिपर अविशेक बरालले मुश्किलले जोगाए ।
खेलको ६१ औं मिनेटमा ब्रिगेड गोल चुकेको थियो । उसका दोर्जे तामाङको क्रसमा ब्रिगेडका रोशन ट्याप इन गर्न असफल भए ।
सातदोबाटोसँगको हारसँगै ब्रिगेडले १२ खेलमा ७ अंक जोडेको छ । ब्रिगेड पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
सातदोबाटोले १२ खेलमा १८ अंक जोडेको छ । सातदोबाटो पाँचौ स्थानमा उक्लिएको छ ।