काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ ।
आइतबार भएको खेलमा आठ पटकको च्याम्पियन मनाङ न्युरोड टिम एनआरटीसँग १-० गोल अन्तरले पराजित भएको हो ।
यससँगै एनआरटीले लिगमा मनाङलाई ११ वर्षपछि हराउँन सफल भएको छ । पछिल्लो पटक एनआरटीले मनाङलाई ०६६/०६७ को लिगमा हराएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन मेसुके ओलुमोउले निर्णायक गोल गरे ।
खेलको २६ औं मिनेटमा मेसुकेले गरेको गोलबाट एनआरटीले तीन अंक जोडेको हो ।
दर्शन गुरुङको फ्रि-किक बललाई नियन्त्रणमा लिंदै मेसुकेले गोल गरेका हुन् ।
त्यसअघि खेलको १५ औं मिनेटमा सनम लिम्बुको प्रहार एनआरटीका गोलकिपर अशोक बरालले सहजै नियन्त्रणमा लिए ।
खेलको २४ औं मिनेटमा मनाङका फ्रान्कलिन क्वेटाले गोलकि सुनौलो अवसर गुमाए । एनआरटीका गोलकिपर पुजन होना आफ्नो पोजिसन बाहिर रहेको अवस्थामा उनले बाहिर प्रहार गरे ।
७९ औं मिनेटमा एनआरटीका दर्शन गुरुङको प्रहार मनाङका गोलकिपर अशोकले मुश्किलले जोगाए ।
खेलको ८९ औं मिनेटमा मनाङका आफिज ओलावालेको हेडर पोस्टको क्रसबारमा लागेर फर्किएको थियो ।
यस्तै खेलको इन्जुरी समयमा मेसुकेले सिक्स यार्ड क्षेत्रभित्रबाट बाहिर प्रहार गरे ।
यस जितसँगै एनआरटीले १२ खेलमा २० अंक जोडेको छ । एनआरटी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
मनाङले १२ खेलमा २० अंक जोडेको छ । मनाङ तेस्रो स्थानमा झरेको छ ।