काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई हराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा जावलाखेलले हिमालयनलाई २-१ गोल अन्तरले हराएको हो।
जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र ओन्गुना जुनियरले एक एक गोल गरे । हिमालयनका अमृत श्रेष्ठले एक गोल फर्काए ।
जितपछि जावलाखेलका मुख्य प्रशिक्षक किशोर कुमार केसी खुसी देखिए । \ उनले टिम रेलिगेसनबाट जोगिएको समेत बताए ।
'१२ खेलमा आएर रेलिगेसनबाट बाचिएको छ । तर, ९० प्रतिशत विश्वास थियो हामी जोगिन्छौ । टिममा अझै सुधार गर्नु पर्ने छ,' प्रशिक्षक केसीले भने ।
हिमालयनका युगल किशोर राईले गोल गर्न नसक्दा पराजित भएको बताए ।
उनले गोलकिपरको गल्तीमा पराजित भएको बताए ।
'किपरको गल्तिले गर्दा गोल खायौ । दोस्रो गोल पनि सेभ जस्तै थियो । जित्न गोल निस्कनु पर्छ । स्कोर गर्न नसक्नु कमजोरी रह्यो,' उनले भने, 'अबको एक खेल राम्रो खेल्छौं ।'