काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई हराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा जावलाखेलले हिमालयनलाई २-१ गोल अन्तरले हराएको हो।
जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र ओन्गुना जुनियरले एक एक गोल गरे ।
हिमालयनका अमृत श्रेष्ठले एक गोल फर्काए ।
रोमान्चक बनेको खेलको १५ औं मिनेटमा रुपले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । रुपले कर्नरबाट सिधै गोल गरेका थिए ।
तर, खेलको ७१ औं मिनेटमा अमृतले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याए । विशन गुरुङको कर्नरमा बल नियन्त्रणमा लिदै अमृतले उत्कृष्ट एक्रोब्याटिक गोल गरे ।
त्यसपछि खेलको ८८ औं मिनेटमा ओन्गुनाले गोल गर्दै जावलाखेललाई २-१ को जित दिलाए ।
त्यसबाहेक दुबै टोलीले अन्य केहि गोलको अवसर गुमाए ।
खेलको १४ औं मिनेटमा जावलाखेलका निकोलस फर्नान्डेसको प्रहार गोलकिपर दीप कार्की बिट भईसकेको अवस्थामा अमृत श्रेष्ठले गोललाइन नजिकबाट क्लियर गरे ।
खेलको ३२ औं मिनेटमा निकोलसको कर्नरमा जावलाखेलका लोइक एनजिमीको हेडर पोस्टको केहि माथिबाट बाहिरिएको थियो।
४४ औं मिनेटमा जावलाखेलका विपिन कँडेलले सिक्स यार्ड बक्स नजिकबाट प्रहार गरेको बल हिमालयनका गोलकिपर दीप कार्कीले मुश्किलले बचाए ।
५० औं मिनेटमा हिमालयनका विशन गुरुङले पेनाल्टी क्षेत्र बाहिरबाटको सशक्त प्रहार जावलाखेलका गोलकिपर टेकेन्द्र सिंह थापाले सहजै आफ्नो पन्जामा पारे ।
यस जितसँगै जावलाखेलले रेलिगेसनबाट जोगिने सम्भावना बलियो बनाएको छ ।
जावलाखेलले १२ खेलमा १३ अंक जोडेको छ । जावलाखेल नवौं स्थानमा रहेको छ ।
हिमालयनले १२ खेलमा १३ अंक जोडेको छ । हिमालयन १० औं स्थानमा रहेको छ ।