इलाम । इलाममा जारी प्रथम देउमाई आमन्त्रण गोल्डकप प्रतियोगिता क्लब ओएसिसले विजयी सुरुआत गरेको छ ।
देउमाई नगरपालिकाको छात्रावास खेलमैदान जारी प्रतियोगिताको उद्धघाटन खेलमा ओएसिसले शसस्त्र प्रहरी सुनसरीलाई २–० ले हराउँदै विजयी सुरुआत गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दुवै गोल दोश्रो हाफमा सम्भव बन्यो । दोश्रो हाफको १९ औ मिनेटमा मोहन टुडुले अग्रता दिलाए ।
३१ औ मिनेटमा सन्तोष रम्तेलले गोल गरेपछि ओएसिसले सेमीफाइनलमा स्थान बनाउन सफल बन्यो । खेलको म्यान अफ दि म्याच मोहन टुडु घोषित भए ।
दोश्रो क्वाटरफाइनल खेलमा आइतबार नेपाली सेनाको पशुपतिप्रसाद गण र भेनस फिक्कल बिच हुनेछ । आगामी फागुन १४ गतेसम्म संचालन हुने प्रतियोगितामा इलाम, झापा, पाँचथर, सुनसरी र मोरङका ८ टिमको सहभागिता रहेको छ ।
युनाइटेड देउमाई युथ क्लबले आयोजना गरेको प्रतियोगिताको बिजेताले १ लाख र उपबिजेताले ५० हजार रुपैंयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै बिधागत पुरस्कारमा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर र स्ट्राइकरले जनही ३÷३ हजार र प्रतियोगिताको उत्कृष्ट खेलाडी ५ हजार रुपैंयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै क्वाटरफाइनल खेलमा म्यान अफ दि म्याच हुनेले १ हजार, सेमिफाइनलका खेलमा २ हजार र फाइनल खेलको म्यान अफ दि म्याचले ३ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजक समितिले जानकारी दिएको छ ।