काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा च्याम्पियन बनिसकेको मछिन्द्र फुटबल क्लबले जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रले १० खेलाडीमा समेटिएको थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
मछिन्द्रको जितमा कप्तान सुजल श्रेष्ठले निर्णायक गोल गरे । सुजलले खेलको इन्जुरी समयमा पेनाल्टी मार्फत गोल गरेका हुन् ।
थ्री स्टारका डिफेन्डर जीवन गुरुङले अविशेक गुरुङलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मछिन्द्रले पेनाल्टीको अवसर पाएको हो । जसमा कप्तान सुजल सफल भए ।
अविशेकलाई फउल गरेपछि पहेलो कार्ड पाएका जीवनले रेफ्रीसँग विवाद गरेपछि उनलाई रातो कार्ड देखाईएको थियो ।
त्यसबाहेक दुबै टोलीले अन्य गोलको अवसर गुमाएका थिए ।
खेलको तेस्रो मिनेटमा हेमन्त थापा मगरको कर्नरमा थ्री स्टारका सिम मार्टोंनको फ्रि-हेडर पोस्टमाथिबाट गएको थियो ।
खेलको १९ औं मिनेटमा थ्री स्टारका हेमन्तको उत्कृष्ट प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले मुश्किलले बचाए ।
खेलको २३ औं मिनेटमा मछिन्द्र सुरुआती अग्रता बनाउन चुक्यो । मछिन्द्रका अविशेक रिजालले प्रहार गरेको बल थ्री स्टारका गोलकिपर प्रिसोले रोक्न खोज्दा टाङमुनिबाट छिरेर गएको बल थ्री स्टारका डिफेन्डर निशान खड्काले गोललाईनबाट क्लियर गरे ।
४८ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट थ्री स्टारका हेमन्तको फ्रि-किक क्रसबारको थोरै माथिबाट बाहिरिएको थियो ।
खेलको ५१ औं मिनेटमा थ्री स्टारका घानिफो क्रोमाको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।
६९ औं मिनेटमा मछिन्द्रका अविशेक गुरुङले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।
यस जितसँगै शीर्ष स्थानको मछिन्द्रले १२ खेलमा ३२ अंक जोडेको छ ।
थ्री स्टारले १२ खेल १८ अंक जोडेको छ । थ्री स्टार चौंथो स्थानमा रहेको छ ।