काठमाडौं । सरकारले नवौं राष्ट्रिय खेलकुद यसै वर्ष आयोजना गर्ने गरि तयारी अघि बढाएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सदस्य सचिव विवादको अस्थायी समाधान खोजेसँगै युवा तथा खेलकुद मन्त्रालयले यसै वर्ष नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने गरि तयारी अघि बढाएको हो ।
सरकारले २०७७ सालमा गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा गरेको थियो । तर कोभिड संक्रमणका कारण गत वर्ष नवौं राष्ट्रिय खेलकुद हुन पाएन ।
सरकार परिवर्तन भएसँगै सदस्य सचिवको विवाद अदालत प्रवेश गरेसँगै सिंगो खेलकुदको काम कारबाही प्रभावित बनेको थियो ।
राखेपमा सदस्य सचिव विवादको अस्थायी समाधान निकालेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा ध्यान केन्द्रित गरेका छन् ।
मन्त्री गहतराजले शुक्रबार राखेपको कार्यकारी समितिको बैठक बोलाएका थिए । बैठकले नवौं राष्ट्रिय खेलकुदको आयोजनाको समय निर्धारण, आयोजना तथा व्यवस्थापन कार्यविधि र बजेटको खाका तयारीका लागि मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ ।
कार्यकारी बैठकको निर्णय अनुसार मन्त्रालयले नवौंको समय निर्धारणदेखि प्रतियोगिता कार्यविधि र बजेट खाकाका लागि समिति गठन गर्नेछ ।
मन्त्री विश्वकर्माले यसअघिनै प्रतियोगता, खेलकुद पूर्वाधार लगायतको अधिकार परिषद्का उपाध्यक्ष शिव कोईरालालाई प्रत्यायोजन गरिसकेका छन् ।
राखेपको कार्यकारी जिम्मेवारी सम्हालेका कुलबहादुर थापाले यसै वर्ष राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने गरि तयारी अघि बढेको बताए ।
‘माननीय मन्त्रीबाट यसै वर्ष राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने गरि निर्देशन प्राप्त भएको छ । एसियन गेम्सको छनोटको रुपमा रहेको राष्ट्रिय प्रतियोगितालाई यस वर्ष कुनैपनि हालतमा सम्पन्न गर्ने उहाँको निर्देशन छ ।’ थापाले खेलपाटीसँग भने ।
मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैतको २० गतेपछि हुने गरि तयारी थाल्न अनौपचारिका रुपमा निर्देशन दिईसकेका छन् ।
‘चैत २० पछिको मितिलाई लक्षित गरेर तयारी थाल्नुस् भन्नु भएको छ । खेलाडीको भविष्यसँग जोडिएको प्रतियोगिता कुनै हालतमा सम्पन्न गर्नुपर्नेमा उहाँको जोड देखिन्छ ।’ थापाले भने ।
आठौं राष्ट्रिय खेलकुद २०७५÷७६ मा तत्कालिन मध्यपश्चिम रहेको लुम्बिनी प्रदेशमा सम्पन्न भएको थियो ।
प्रतियोगिताको समापनको दिन नेपालगञ्जमा बसेको राखेपको बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो । तर कोभिडका कारण गत वर्ष प्रतियोगिता आयोजना हुन सकेन ।
‘भौतिक पूर्वाधारले रोकिने अवस्था छैन । जिल्ला र प्रदेश छनोटमा प्रदेश खेलकुद विकास परिषद्सँग समन्वय गरेर मिति तोक्ने तयारी छ ।’ राखेपको कार्यकारी जिम्मेवारीमा रहेका थापाले भने, ‘रकम स्विकृत हुने बित्तिकै प्रतियोगिताको मिति घोषणा हुन्छ ।’
हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्य सहित सुरु गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिता राजनीतिक र राखेपको विवादका कारण पटक पटक सर्दै आउने गरेको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित हुन नसक्दा घरेलु खेलकुदको संरचना कमजोर मात्र छैन, राम्रा खेलाडी समेत पलायन हुने गरेका छन् ।
संघीय संरचना अनुसार गठन भएर काम गर्न नसकेका प्रदेश खेलकुद विकास परिषद्, सम्पन्न हुन नसकेको कर्मचारी समायोजना, कमजोर खेलकुद संरचना र अस्पष्ट ऐन, नीति र स्थानीय निर्वाचनका कारण देखिएको बजेटको अभावका कारण राष्ट्रिय प्रतियोगिता यसै वर्ष सम्पन्न गर्ने चुनौती भने सरकारसँग छ ।