काठमाडौं ।मिडफिल्डर क्रिस्टियन एरिक्सनले ब्रेन्टफोर्डमा २१ नम्बरको जर्सी लगाउने भएका छन् ।
ब्रेन्टफोर्डले एरिक्सनलाई २१ नम्बरको जर्सी दिइएको जनाएको छ ।
डेनिस मिडफिल्डर एरिक्सन सोमबार ब्रेन्टफोर्डमा अनुबन्धित भएका थिए ।
एरिक्सनलाई ब्रेन्टफोर्डले यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरेको हो ।
२९ वर्षीय एरिक्सन दुई वर्षपछि प्रिमियर लिग फर्किएका हुन् ।
एरिक्सन सन् २०२० मा टोटेनहमबाट इन्टर मिलान गएका थिए ।
तर, एरिक्सनले युरोकप फुटबल दौरान भएको हृदयघातपछि फुटबल खेलेका छैनन् ।
उनले इटालियन क्लब इन्टरसँगको सम्झौता रद्द गरेका थिए ।
मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) नहटाएसम्म इटालीमा खेल्न नपाउने भएपछि एरिक्सन र इन्टरले सम्झौता रद्द गरेको हो ।
हृदयघात भएपछि डेनमार्कका मिडफिल्डर एरिक्सनको शरीरमा आइसिडी जडान गरिएको छ ।
युरोकपमा फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए ।
मैदानमा ढलेपछि २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । जसको कारण उनको ज्यान बचेको थियो ।
पछिल्लो समय उनी डच क्लब आयाक्सको रिजर्भ टिमसँग प्रशिक्षण गरिरहेका थिए ।