दुबै खेल जित्छौं भन्ने लागेको थिएन - अलमुताइरी
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा मंगलबार अफ्रिकी राष्ट्र मरिससलाई १-० गोल अन्तरले हराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे ।
यस जितसँगै अफ्रिकी टोलीविरुद्ध नेपालले दुबै मैत्रीपूर्णमा जित निकाल्न सफल भयो । पहिलो खेलमा समेत नेपालले १-० को जित निकालेको थियो ।
दुबै मैत्रीपूर्ण खेलमा जित निकालेपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खुशी देखिए ।
'हामीले आज जित्यौं । महत्पूर्ण कुरा आज ३-४-३ को रणनीतिमा खेल्यौं । ७० प्रतिशत नेपालले बल पोसेसन राख्यो,' अलमुताइरीले भने, 'नेपाली खेलाडीले राम्रो टिमसँग फाइट गर्न सक्छ भनेर देखाएको छ। म धेरै खुसी छु।'
यस्तै अलमुताइरीले आफ्नो योजनामा दुबै खेलमा जित निकाल्ने नरहेको समेत बताए ।
'म सत्य कुरा गर्छु । मेरो योजनामा दुबै खेल जित्ने थिएन । एक बराबरी, एक जित वा एक जित एक हार हुन्छ भन्ने लागेका थियो । तर, धेरै राम्रो भयो,' उनले थपे ।
प्रशिक्षक अलमुताइरीले कोभिडको कारण दुई खेलका लागि दुई टिम बनाएको पनि बताए ।
मरिससका मुख्य प्रशिक्षक टोनी फ्रान्कोइसले आफ्नो टोलीले राम्रो खेलेको भएपनि जित निकाल्न नसकेको बताए ।
'हामीले राम्रो खेल्यौँ। हामीले केहि अवसर पायौँ। गोलको लागि काम गरेको पनि हो तर सकिएन,' उनले भने ।













