किरण 'प्लेयर अफ दि म्याच'

काठमाडौं । कप्तान तथा गोलकिपर किरण चेम्जोङ अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा प्लेयर अफ दि म्याच चुनिएका छन् ।
मंगलबार मरिससलाई १-० गोल अन्तरले पराजित गर्दा उत्कृष्ट प्रदर्शन गरेका किरण प्लेयर अफ दि म्याच चुनिएका हुन्।
प्लेयर अफ दि म्याच चुनिएका किरणले केटिएम सिटीबाट ५० हजार नगद पुरस्कार पाए ।
यस्तै हाम्रो फुटबल नेपालबाट २५ हजार पाए ।
खेलको १३ औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीको पेनाल्टी प्रहार किरणले बचाएका थिए ।
नेपालका दिनेश राजवंशीले लिन्स्ले बर्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मरिससले पेनाल्टी पाएको थियो।
पेनाल्टीमार्फत गोल गर्दै मरिससलाई खेलमा फर्कने अवसर थियो । तर किरणले पेनाल्टी बिफल पार्दै खेलको अन्तिमसम्म नेपालको अग्रतालाई जोगाउन सफल भए ।
खेलका दौरान मरिससका केही उत्कृष्ट प्रहारलाई किरणले बचाउ समेत गरेका थिए ।
राखेप उपाध्यक्ष शिव कोईराला र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले संयुक्त रुपमा किरणलाई पुरस्कृत गरेका थिए ।
माल्दिभ्सबाट व्यवसायीक फुटबल खेलिरहेका किरण मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन् ।
मरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालकै बिमल घर्तिमगर प्लेयर अफ दि म्याच चुनिएका थिए ।
सुजल श्रेष्ठ प्रेरित नेपालले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा १ं-० को जित निकालेको छ।













