काठमाडौं । इजिप्ट अफ्रीका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको क्वाटरफाइनलमा मोरक्कोलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराएर इजिप्ट अन्तिम चारमा पुगेको हो ।
इजिप्टले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
रोमान्चक बनेको खेलको छैटौं मिनेटमा सोफियन बाउफलले पेनाल्टीमा गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५३ औं मिनेटमा कप्तान मोहमद सलाहले गोल गर्दै इजिप्टलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको १०० औं मिनेटमा महमुद अहमेद इब्राहिम हसनले गोल गर्दै इजिप्टलाई २-१ को जित दिलाए ।
अब इजिप्टले सेमिफाइनलमा आयोजक क्यामरुनसँग खेल्नेछ ।