पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा अहिले साविक विजेता संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले १-० गोलको अग्रता बनाएको छ ।
खेलको १३ औं मिनेटमा उत्सव राईले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका हुन् ।
आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ ।
पहिलो क्वाटरफाइनलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३-१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगिसकेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।
त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।