काठमाडौं । स्पेनिस सुपर कपमा रियल मड्रिडले बार्सिलोनालाई हराएको छ ।
बुधबार राति रियल मड्रिडले बार्सिलोनालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
चिरप्रतिद्धन्दी बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस कपको फाईनलमा प्रवेश गरेको छ ।
फेडरिको भाल्भर्डेले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै रियललाई जित दिलाएका हुन् ।
खेल सकिन ७ मिनेट अघि अंशु फातीले बार्सिलोनाका लागि बराबरी गोल गरेका थिए । उनले करिम बेन्जिमाको अग्रतालाई बराबरी गरेका थिए ।
खेलमा अग्रता रियल मड्रिडले भिनिसियस जुनियरको गोलमा लिएको थियो । खेलको २५ औं मिनेटमा करिम बेन्जिमाको पासमा भिनिसियसले रियललाई अघि बढाएका थिए ।
बार्सिलोनाका लागि लि डी जोङले बराबरी गोल फर्काए । ४१ औ मिनेटमा उनले गोल गर्दै पहिलो हाफ १–१ को बराबरीमा सकेका थिए ।
जाभी नेतृत्वको बार्सिलोनाले खेलमा अवसर सिर्जना गरेको थियो । तर त्यसलाई गोलमा परिणत गर्न सकेन । उसमान डेम्बेले, बैकल्पिक खेलाडी पेड्री र फातिले गोलको अवसर सिर्जना गरेका थिए ।
म्यानचेस्टर सिटीबाट आएका फेरान टोरेसले बार्सिलोनाबाट डेब्यु गर्दै सुरुवाती समयबाट खेलेका थिए ।
गत सिजनको च्याम्पियन एट्लेटिको मड्रिडले एट्लेटिक बिल्बाओसँग बिहीबार सेमिफाईनलको खेलमा प्रतिस्पर्धा गर्नेछ । विजेताले उपाधिका लागि रियल मड्रिडसँग आईतबार रियादमा खेल्नेछ ।