काठमाडौं । अर्को महिना नेपाली राष्ट्रिय फुटबल टिमले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा मरिससको सामना गर्दैछ ।
दशरथ रंगशालामा हुने दुई खेल क्रमश: जनवरी २९ र फेब्रवरी १ मा हुनेछ ।
यससँगै नेपालले आफ्नो फुटबल इतिहासमा पहिलो पल्ट औचापरिक मान्यता प्राप्त आधिकारिक खेलमा कुनै अफ्रिकी देशको सामना गर्नेछ ।
मरिसस फिफा वरीयतामा अहिले १ सय ७२ औं स्थानमा छ । मरिसस अफ्रिकी फुटबल महासंघ (काफ) सँग आवद्ध छ । क्षेत्रीय रूपमा भने मरिसस ‘काउन्सिल अफ साउर्थन अफ्रिका फुटबल एसोसियसन’ मा जोडिएको छ । मरिससले सन् १९७४ मा एक पल्ट अफ्रिकी कप अफ नेसन्स पनि खेलिसकेको छ र यो नै उसको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धी हो ।

नेपालले भने सन् १९८२ देखि फिफा मान्यता प्राप्त अन्तर्राष्ट्रिय खेल खेल्न थालेको हो र यसक्रमा पहिलो पल्ट अफ्रिकी देशविरुद्ध खेल्नेछ । मउरिस नेपाल आउने पहिलो अफ्रिदी देश पनि हुनेछ । नेपाली राष्ट्रिय टिमले अहिलेसम्म दुई अवसरमा अफ्रिदी देशको सामना गरेको छ, तर ती दुवै खेल औपचारिक मान्यता प्राप्त भने थिएन् ।
सन् १९८३ मा नेपालले मलेसियामा भएको मर्डेकाकपमा सहभागिता जनाउँदा अल्जेरिया ११ विरुद्ध खेल्ने अवसर मिलेको थियो । त्यो खेल नेपालले २–० ले गुमाएको थियो । यस्तै सन् २००८ को मर्डेका कपमै नेपालले सिरालियोन यू २० को सामना गरेको थियो । त्यसमा नेपाल ३–१ ले पराजित रहेको थियो ।