बेसीसहर । लमजुङको बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार हुने भनिएको तीन खेल स्थगित भएको छ ।
वर्षाको कारण आज तय भएको तीन खेल स्थगित गरिएको आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
आज पहिलो खेलमा घनपोखरा युवा क्लब र बुद्ध युथ क्लबबीच खेल हुने तालिका थियो ।
यस्तै दोस्रो खेलमा अन्नपूर्ण युथ क्लब र बेशीसहर युथ सोसाइटी तथा तेस्रो खेलमा न्यु आदर्श युवा क्लब र समाज कल्याणबीच खेल हुने तय थियो ।
आगामी पुस २० गतेसम्म चल्ने प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।
सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५ हजार पाउने छन् ।