काठमाडौं । जति बेला मछिन्द्र फुटबल क्लबले सहिद स्मारक लिग ०७८ को सातौं चरणमा पुलिसको सामना गर्नेछ, उसका गोलरक्षक विशाल श्रेष्ठको ध्यान एउटा तथ्यमा हुनेछ, त्यसमा पनि क्लिन सिट राख्ने र आफूले गोल नखाएको समय पाँच सय मिनेट भन्दा बढी पुर्याउने ।
लिगका ६ चरण समाप्त हुँदा डिफेन्डिङ च्याम्पियन मछिन्द्र शीर्ष स्थानमा छ ।
यसको एउटा प्रमुख कारण गोलरक्षक विशालको उम्दा प्रदर्शन पनि हो । यी छ खेलमध्ये अन्तिम पाँच खेलमा उनले गोल खाएका छैनन् ।

एनआरटीविरुद्ध मछिन्द्रले आफ्नो पहिलो खेलमा हात पारेको जितमा उनले एक गोल खाएका थिए । टिमको त्यस २–१ जितमा एनआरटीका तर्फबाट एरिक विष्टले फ्रि किकबाट ५४ औं मिनेटमा गोल गरेका थिए ।
त्यसयता विशालले कुनै गोल खाएका छैनन् । यस आधारमा उनले गोल नखाएको समय ४ सय ८६ मिनेट पुगेको छ । मछिन्द्रले वर्ष ०७६ मा लिग जित्दा पनि उनी सबै १३ खेलमा सहभागी थिए र यसक्रममा सात खेलमा क्लिन सिट राखेका थिए ।

त्यस लिगमा आर्मीविरुद्धको अन्तिम खेललाई पनि जोड्ने हो भने विशालले पछिल्ला सातमध्ये छ प्रतिस्पर्धामा क्लिन सिट राखेका छन् ।
यसपल्टको लिगमा मछिन्द्रले राखेको पाँच क्लिन सिट सर्वाधिक हो । त्यस बाहेक अहिलेसम्म थ्री स्टार र आर्मीले चार, संकटा, जावलाखेल, मनाङ मर्स्याङ्दी र एनआरटीले तीन, फ्रेन्ड्स, सातदोबाटो, बीबीसी र पुलिसले दुई तथा च्यासल र एपीएफले एक क्लिन सिट राखेका छन् ।
खालि हिमालयन शेर्पा मात्र त्यस्तो टिम रहेको छ, जसले ६ खेलमध्ये सबैमा गोल खाएको छ ।