बेसीसहर । लमजुङको बेसीसहरमा २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको उद्घाटन भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले त्रिवेणी कपलाई एन्फाले क्यालेन्डरमा समावेश गराउने जानकारी गराए ।
आयोजक त्रिवेणी युवा क्लब अध्यक्ष विनोद गुरुङले प्रतियोगितालाई अझ व्यवस्थित र भव्य बनाउन सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउदै सम्बन्धित निकायलाई पूर्वाधारमा सहयोग गरिदिन आग्रह गरे ।

उद्घाटनको अवसरमा साँस्कृतिक कार्यक्रम तथा मैत्रीपूर्ण खेल आयोजना भएको थियो ।
मैत्रीपूर्ण खेलमा आयोजक त्रिवेणी भेट्रान्सले आर्मी-११ लाई ४-० ले हराएको थियो ।
पुस २० गतेसम्म चल्ने प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटनमा मंगलबार त्रिवेणी युवा क्लब र भिमाद युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।
सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५ हजार पाउने छन् ।
क्वाटरफाइनलपछिको म्यान अफ दि म्याचले २५ सय र फाइनलको म्यान अफ दि म्याचले ५ हजार पाउने छन् ।