काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबार सातदोबाटो युथ क्लब जावलाखेल युथ क्लबसँग पराजित भयो ।
नवप्रवेशी सातदोबाटो जावलाखेलसँग २-० गोल अन्तरले पराजित भएको हो ।
जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले एक एक गोल गरे ।
जावलाखेलसँग पराजित भएपछि सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीले टिमले आफ्नो स्तरको खेल खेल्न नसकेको बताए ।
'टिमले आफ्नो स्तरको खेल खेल्न सकेन । आज नयाँ टिम हो, अपरिपक्क टिम हो जस्तो देखियो । पहिले जस्तो प्रदर्शन गर्थ्यो त्यस्तो दिन नसक्दा आज हार व्यहोर्नु पर्यो,' उनले भने. 'आफु भन्दा तल्लो टिम, नतिजा नआईरहेको टिमलाई सहज जित्छौं भन्ने भावना खेलाडीमा आएको हुनसक्छ ।'
यस्तै केसीले आगामी खेलमा सुधार गर्ने बताए ।
'यो टिमले सुधार गर्दै राम्रो भन्दा राम्रो प्रदर्शन गर्नै पर्छ । अर्को खेलबाट टिमको प्रदर्शन राम्रो गर्ने कोशिस गर्छौं,' उनले थपे ।
जावलाखेलका मुख्य प्रशिक्षक किशोर केसीले खेलाडीले राम्रो खेल खेलेर जितेको बताए ।
'खेलाडीलाई धन्यवाद दिन चाहन्छु । राम्रो खेल खेल्यो । अझैपनि पोलमा लाग्ने काम भईरहेको छ । नतिजाबाट खुशी छु,' उनले भने ।