काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले जित निकालेको छ ।
सोमबार भएको खेलमा जावलाखेलले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई २-० गोल अन्तरले हराएको हो ।
जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले एक एक गोल गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा जावलाखेलले दुई गोल गरेको थियो ।

खेलको ५० औं मिनेटमा विपिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । सातदोबाटोका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा उनले सहजै गोल गरे ।
त्यसपछि खेलको ७० औं मिनेटमा निकोलसले गोल गर्दै जावलाखेललाई २-० को जित दिलाए । उनले करिय ३० यार्ड टाढाबाट उत्कृष्ट गोल गरे ।
जितसँगै जावलाखेलले ६ खेलमा ७ अंक जोडेको छ । जावलाखेल नवौं स्थानमा उक्लिएको छ ।
सातदोबाटोले ६ खेलमा ८ अंक जोडेको छ । सातदोबाटो पाँचौं स्थानमा रहेको छ ।
खेलको म्यान अफ दि म्याच जावलाखेलमा ओन्गुना जुनियर चुनिए ।
जावलाखेलकै रुप बहादुर लामा इमर्जिङ प्लेयर बने ।