काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा संकटाले ब्रिगेड ब्वाइज क्लबलाई ३-० गोल अन्तरले हराएको हो ।
संकटालाई जित दिलाउन उत्तम राईले दुई गोल गरे । यस्तै लक्ष्मण रुचालले एक गोल थपे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटाले तीनै गोल पहिलो हाफमा गरेको थियो ।
खेलको १३ औं मिनेटमा उत्तमले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाए । जोर्डन जुनियरको पासमा उत्तमले हेडमार्फत उत्कृष्ट गोल गरे ।
२८ औं मिनेटमा उत्तमले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए। उनले फोडे फोफानाको पासमा सहजै गोल गरे ।
त्यसपछि खेलको ३८ औं मिनेटमा लक्ष्मणले गोल गर्दै संकटालाई ३-० को जित दिलाए । ब्रिगेडका डिफेन्डर रन्दिप पौडेलले क्लियर गरेको बलमा गोलकिपर अघि बढेको अवस्थामा लक्ष्मणले वानटचमा गोल गरे ।
यस जितसँगै संकटाले ६ खेलमा १२ अंक जोडेको छ ।
संकटा अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
ब्रिगेडले ६ खेलमा ५ अंक जोडेको छ ।
ब्रिगेड ११ औं स्थानमा रहेको छ ।
संकटाका फोडे फोफाना प्लेयर अफ दि म्याच चुनिए ।
यस्तै उत्तम इमर्जिङ प्लेयर अफ दि म्याच चुनिए ।