काठमाडौं । विभागीय टिम एपीएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका लागि जापानी गोलकिपर युया कुरिमायालाई अनुबन्ध गरेको छ ।
कुरिमायाले एपीएफका लागि डेब्यु समेत गरेका छन् । सोमबार फ्रेन्ड्स क्लबविरुद्ध खेल्दै उनले डेब्यु गरेका हुन् ।
कुरिमायाको डेब्यु खेलमा एपीएफले फ्रेन्ड्सलाई ३-१ ले हराएको छ ।
एपीएफका मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपरको अभाव भएपछि उनलाई अनुबन्ध गरिएको बताए ।
थापाले अर्को एक विदेशी खेलाडी समेत अनुबन्ध गरिएको बताए ।
कुरिमाया विभागीय टिमबाट खेल्ने पहिलो विदेशी खेलाडी समेत बनेका छन् ।
यस अघि विभागीय टिमले विदेशी खेलाडी राख्ने गरेका थिएनन् ।
तर, एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि विभागीय टोलीलाई विदेशी खेलाडी अनुबन्ध गर्ने बाटो खुलेको थियो ।