काठमाडौं । विभागीय टिम एपीएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
सोमबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै एपीएफले पहिलो जित निकालेको हो ।
एपीएफलाई जित दिलाउन आशिष लामाले दुई गोल गरे । यस्तै बिकी तामाङको नाममा एक गोल रह्यो ।
फ्रेन्ड्सका प्रिजेन तामाङले एक गोल फर्काए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआतमा एपीएफविरुद्ध फ्रेन्ड्सले लगातार आक्रमण गर्यो । तर, गोल निकाल्न सकेन ।
पाँचौं मिनेटमा फ्रेन्ड्सले गोलको सुनौलो अवसर गुमायो । उसका फरवार्ड जमुल एन्थोनीले वान भर्सेस वानको स्थितिमा गोल गर्न चुके । पेनाल्टी एरिया भित्रबाट उनको प्रहार एपीएफका जापानी गोलकिपर युया कुरिमायाले बचाए ।
खेलको १७ औं मिनेटमा फ्रेन्ड्सका प्रिजेन तामाङको प्रहार एपीएफका गोलकिपर कुरिमायाले उत्कृष्ट बचाउ गरे ।
फ्रेन्ड्सका हरि कठायतले खेलको २४ औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए । तर, अफसाइड रहेपछि उनको गोलले मान्यता पाएन ।
एपीएफले ३० औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता बनायो । कप्तान नविन लामाको पासमा पेनाल्टी एरियाको ठिक बाहिरबाट बिकीले उत्कृष्ट गोल गरे ।
खेलको ३२ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई २-० को अग्रता दिलाए । कप्तान नविनकै पासमा उनले गोल गरेका थिए ।
खेलको ५६ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को अग्रता दिलाए । आवास लामिछानेको पासमा अफसाइड बिट गर्दै उनले सहजै गोल गरे ।
खेलको ६९ औं मिनेटमा प्रिजेनले पेनाल्टीमा गोल गर्दै फ्रेन्ड्सलाई ३-१ को स्थितिमा ल्याए । एपीएफका दिपेश धिमालले पेनाल्टी एरियाभित्र जमुल एन्थोनीलाई फाउल गरेपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो ।
खेलको ७१ औं मिनेटमा आशिषले ह्याट्रिक गोलको अवसर गुमाए । वान भर्सेस वानको स्थितिमा पेनाल्टी एरिया भित्रबाट उनको प्रहार फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले बचाए ।
यस जितसँगै एपीएफले ५ खेलमा ४ अंक जोडेको छ ।
एपीएफ ११ औं स्थानमा उक्लिएको छ ।
फ्रेन्ड्सले ५ खेलमा २ अंक जोडेको छ ।
फ्रेन्ड्स पुछारमा रहेको छ ।
खेलमा एपीएफका आशिष लामा म्यान अफ दि म्याच चुनिए ।
इमर्जिङ प्लेयर एपीएफकै आवाश लामिछाने चुनिए ।