काठमाडौं । रेलिगेसन क्षेत्रमा रहेका दुई टिम फ्रेन्ड्स र एपीएफ सहिद स्मारक लिग ए डिभिजन ०७८ मा सोमबार भिड्दा त्यो दुवैका लागि जितसँगै केहीहदसम्म तनावमुक्त हुने अवसर हुनेछ ।
तर, दुवैका लागि त्यो सजिलो पनि हुने छैन्, किनभने लिगका चार चार खेल खेलिसक्दा उनीहरूले जित निकाल्न सकेका छैनन् ।
फ्रेन्ड्स चार खेलबाट दुई अंक जोडेर १३ औं स्थानमा रहेको छ भने एपीएफको चार खेलबाट एक अंक मात्र छ ।
यसले पनि देखाउने गर्छ, दुवै टिमको प्रदर्शन अहिलेसम्म कति धेरै कमजोर रहेको छ भनेर । तर लिगका पछिल्ला पाँच संस्करणलाई आधार मान्ने हो भने एपीएफले यस खेलमा आफ्नो अवसर देख्न सक्छ ।
लिगका पछिल्ला तीन संस्करणमा एपीएफ फ्रेन्ड्समाथि लगातार विजयी रहेका छ । उसले फ्रेन्ड्सलाई वर्ष ०७० मा १–०, वर्ष ०७५ मा १–० र वर्ष ०७६ मा ५–२ ले हराएको थियो ।
पछिल्लो सात गोल सम्भव खेलमा एपीएफका लागि आशिष लामा र प्रविण स्याङताङले दुई दुई गोल गरेका थिए ।
लिगको १२ औं चरणको त्यही खेल जितेर दुई वर्ष अगाडि एपीएफ रेलिगेसनबाट बच्ने निश्चित भएको थियो । वर्ष ०६९ मा भने एपीएफ र फ्रेन्ड्सले १–१ को बराबरी खेले ।
वर्ष ०६८ मा भने फ्रेन्ड्सले एपीएफलाई ३–२ ले पराजित गरेको थियो ।