काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा सिटीले न्युकासल युनाईटेडलाई ४-० गोल अन्तरले हराएको हो ।
सिटीलाई जित दिलाउन रुबेन डियास, जोआ कान्सेलो, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक एक गोल गरे ।
खेलको पाँचौं मिनेटमा डियासले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

२७ औं मिनेटमा कान्सेलोले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।
खेलको ६३ औं मिनेटमा महरेजले गोल गर्दै सिटीको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ४-० को जित दिलाए।
जितसँगै सिटीले १८ खेलमा ४४ अंक जोडेको छ ।

सिटीले शीर्ष स्थानमा ४ अंकको अग्रता समेत बनाएको छ ।
न्युकासल १० अंक जोडेर १९ औं स्थानमा रहेको छ ।