काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाईजलाई हराएको छ ।
आईतबार भएको लिगको एक मात्र खेलमा शेर्पाले ब्रिगेडलाई ३-१ गोल अन्तरले हराएको हो ।
ब्रिगेडलाई हराउँदै शेर्पाले जारी लिगमा पहिलो जित दर्ता गरेको छ ।
खेलको पाँचौ मिनेटमा मुतम्बा पिस्टोनीको गोलमा शेर्पाले खेलमा अग्रता बनाएको थियो ।
तर भुवन बस्नेत ५३ औं मिनेटमा ब्रिगेडका लागि बराबरी गोल फर्काएका थिए ।
शेर्पाका सुरेश कुमालले ७४ औं मिनेटमा गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए । कुमालले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।
इन्जुरी समयको चौथो मिनेटमा मनिष थापाले गोल गर्दै शेर्पालाई फराकिलो जित दिलाए ।
जित सहित शेर्पाले ५ खेलबाट ५ अंक जोडेको छ । जित सहित शेर्पा तालिकाको नवौं स्थानमा उक्लिएको छ । ब्रिगेड गोल अन्तरका आधारमा तालिकाको दशौं स्थानमा झरेको छ । ब्रिगेडको समेत समान ५ अंक रहेको छ ।