काठमाडौं । इंग्लीस प्रिमियर लिग क्लबहरु कोरोना भाइरस महामारीका कारण बढ्दो संकटलाई लिएर सोमबार छलफल गर्ने भएका छन् ।
गत एक हप्तामा लिगका १० खेल स्थगित भइसकेका छन् जसमध्ये यसै विकेन्डको ६ खेल समावेश रहेका छन् ।
सोही कारण क्लबहरु बैकल्पिक उपायहरुको बारेमा छलफल गर्न लागेका हुन् ।
क्लबका प्रशिक्षक र कप्तानहरुले पनि उनीहरुको आफ्नै बैठक बस्ने योजना रहेको छ ।
एस्टन भिल्लाका मुख्य प्रशिक्षक स्टेभेन जेरार्डले यस बैठकले कतिपय अनुत्तरित प्रश्नहरुबारे स्पष्टता प्रदान गर्ने आशा व्यक्त गरे ।
यसैबीच प्रिमियर लिगका प्रमुख रिचर्ड मास्टर्सले क्लबलाई पत्राचार गर्दै आफ्ना खेलाडीहरुलाई कोरोना भइरसविरुद्धको खोप लगाउन तथा लिगको जारी सिजन टुंग्याउन कतिको महत्वपूर्ण रहेको बारेका जानकारी गराएका छन् ।
ब्रेन्टफोर्डका मुख्य प्रशिक्षक थोमस फ्रयान्कले डिसेम्बर २६ सम्म सबै खेलहरु स्थगित गर्नुपर्ने माग गरेका थिए ।