अबामयाङ झन झन एक्लिदै

काठमाडौं । सायद अब पिएरे इमरिक अबमयाङले दोहराएर आर्सनलका लागि खेल्ने छैनन् । उनी त झन झन पो एक्लिदै छन् ।
आर्सनलले केही समय अगाडि मात्र उनको कप्तानी छिनेको थियो । त्यसपछि उनलाई टिममा पनि राखिएको छैन् । अब त झन उनलाई टिमको अभ्यासमा पनि बोलाउन छाडिएको छ ।
त्यसैले पछिल्ला केही दिन उनले एक्लै आफै अभ्यास गरिरहेका छन् । उनलाई अनुशासनको कारवाही गर्दै टिमबाट हटाउन सबैभन्दा बढी जिद्दी गरेका थिए, प्रशिक्षक मिखेल आर्टेटाले ।
आर्सनल आफै अहिले सुखद लयमा फर्किएको हुनाले पनि आर्टेटा नै सबैका अगाडि ठीक जस्तो देखिएको छ ।
भर्खर लिड्स युनाइटेडलाई हराएको आर्सनलले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा आफ्नो पकड बलियो बनाइरहेको छ ।
यस्तोमा सबैले भन्न थालेका छन्, आखिरमा अबामयाङ किन पो चाहियो र ? बरु उनकै कारणले यसअघि आर्सनलको खेल खराव भइरहेको त थिएन् ? प्रश्न अर्को के पनि छ भने अबमायाङ अब कता जाने छन् ?
यसको उत्तर पनि सजिलो छैन् । आर्सनल र उनको बीच अझै पनि १८ महिनाको अनुबन्ध बाँकी छ । खेलाडीले चाहेर पनि यो स्थितिमा गर्न सक्ने केही पनि छैन् ।
अबको महिना हुने अफ्रिकी कप अफ नेसन्सपछि उनको स्थिति के हुने हो, त्यो थाहा हुनेछ, किनभने उनले ग्याबोनका लागि त्यसमा सहभागिता जनाउने छन् ।
अहिले तत्काल उनी झन झन एक्लिदै छन् ।
–मार्काको सहयोगमा ।