काठमाडौं । पिएरे एमरिक औबामेयाङले आर्सनलमा प्रशिक्षकदेखि समर्थकको विश्वास गुमाएका छन्, अब फेरि त्यही विश्वास त्यस्तै स्वरूपमा जित्न गाह्रै हुनेछ ।
पहिलो पल्ट होइन्, उनी दोस्रो पल्ट गलत कारणले चर्चामा रहे, आर्सनलले तय गरेको अनुशासन तोडेको आरोपमा । यही क्रममा उनको कप्तानी पनि खोसिएको छ ।
सन् २०१८ मा उनी बोरुसिया डर्टमुन्डबाट आर्सनल आएका हुन् । त्यति बेला आर्सनलमा आर्सन वेन्गर नै व्यवस्थापक थिए, तर महिना दिनको अन्तरमा क्लब छाडे ।
प्रिमियर लिगमा बिताएको पहिलो वर्षमै उनले २२ गोल गरे र जिते, प्रिमियर लिग गोल्डेन बुट अवार्ड । गत सिजन मात्रै उनले क्लबसँग निकै लोभलाग्दो अनुबन्ध गरेका छन् ।

त्यस अनुसार उनले आर्सनलसँग तीन वर्षका लागि पाँच करोड ५० लाख पाउन्डको सम्झौता गरे । यसले पनि देखाउँछ, आर्सनलले उनीमाथि कति विश्वास गरेका थिए । तर अनुबन्ध के गरेको थियो, उनको खेल कमजोर हुन थाल्यो । खेल के कमजोर हुन थाल्यो, औबामेयाङले सबैको विश्वास गुमाउने गरेर अनुशासनहीन काम गर्न थाले ।
कतिसम्म भने अभ्यासकै लागि मैदानमा ढिला आउन थाले । उनको यही कामले गर्दा प्रशिक्षक मिखेल आर्टेटा रिसाएका छन् । एउटा सफल र राम्रो खेलाडीको खेल जीवन कसरी आरोलो लाग्न सक्छ भन्ने उदाहरण औबामेयाङ हुन सक्छन् । अब उनको काम भनेको आफूलाई सम्हाल्ने र सुधार्ने नै हो ।
–बीबीसीको सहयोगमा ।