काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत तेस्रो चरणको खेलहरु भोलि (शुक्रबार) बाट सुरु हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तेस्रो चरणको दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा फ्रेन्ड्स क्लब कुपन्डोल र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
तेस्रो चरणमा सबै टिमले तीन अंक जोड्ने लक्ष्य लिएका छन् ।
बिहीबार आयोजित प्रि म्याच कन्फरेन्समा मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकले तेस्रो चरणमा तीन अंकको लागि खेल्ने बताए ।
'थ्री स्टार हामीभन्दा स्तरीय टिम हो । धेरै उपाधि जितेको टिम हो । अंक खोस्ने योजना छ,' थ्री स्टारसँगको खेल अघि फ्रेन्ड्सका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले भने, 'सकेमा ३ नत्र १ अंकको लागि खेल्ने छौँ ।'
फ्रेन्ड्स २ खेलमा १ अंक जोडेर लिगको दशौँ स्थानमा रहेको छ ।
थ्री स्टारका सहायक रविन्द्र सिलाकरले फ्रेन्ड्सलाई कमजोर नठान्ने बताए ।
'तयारी सकिसकेको छ । खेलाडीको फिटनेस लेभललाई लेभलमा ल्याईसकेका छौँ । खेलको लागि चाहिने रणनीति बनाईसकेका छौँ ,' उनले भने, 'प्रतिद्वन्दी कहिले पनि कमजोर हुँदैछ । ओभर कन्फिडेन्टले जहिले पनि खेल हार्न सक्छ । हामीले हाम्रो खेलाडीलाई प्रतिद्वन्दी कमजोर हुँदैन भनेर तयारी गराएका छौँ ।'
थ्री स्टार २ खेलमा ३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
यस्तै सातदोबाटोका सहायक प्रशिक्षक सुरज महर्जनले एपीएफबिरुद्धको खेलका लागि कडा मेहेनत गरेको बताए ।
'हाम्रो तयारी राम्रै छ । थ्री स्टारलाई जितेपछि खेलाडीको मोरल हाइ छ,' उनले भने, 'तर, विपक्षी सधै बलियो नै हुन्छ । हामीले कडा मेहेनत गरेका छौँ । त्यो देखाउने छौँ ।'
पहिलो पटक शीर्ष डिभिजनको लिग खेलिरहेको सातदोबाटो २ खेलमा ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
एपीएफका सहायक प्रशिक्षक रत्न काजी महर्जनले सातदोबाटोविरुद्ध तीन अंकको लागि खेल्ने बताए ।
'दुई खेल हारेर टिमलाई दबाब छ । भोलि हामी ३ अंकको लागि खेल्ने छौँ ,' उनले भने, 'अघिल्ला खेलमा हामीले जुन गल्ति गरेका छौँ । त्यसलाई सुधार गरेर तयारी गरेका छौँ ।'
दुई खेलमा अंक विहीन एपीएफ १३ औं स्थानमा रहेको छ ।