इलाम । इलामको माङ्सेबुङमा जारी १४ औं संस्करणको आत्मानन्द कपमा घरेलु टोली माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम फाइनल प्रवेश गरेको छ ।
आत्मानन्द खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई सडनडेथमा हराउदै माङसेबुङ फाइनल प्रवेश गरेको हो ।
फाइनल प्रवेशसँगै घरेलु टोलीले कम्तीमा २ लाख १ सय ६८ रुपैयाँ पक्का गरेको छ ।
निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएको थियो । पहिलो हाफको अतिरिक्त समयमा प्रविन राईले गोल गर्दै माङसेबुङलार् अग्रता दिलाएका थिए । तर ५५ औं मिनेटमा सुमन लिम्बूले गोल गर्दै फिदिमलाई बराबरीमा फर्काए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि सडनडेथबाट फाइनल प्रवेश गर्ने टोली छानिएको हो ।
खेलको म्यान अफ द म्याच माङसेबुङका प्रवीन राई घोषित भए ।
प्रतियोगिता अन्तर्गत बिहीबार हुने दोस्रो सेमिफाइनलमा बिबिएफसी दमक, झापा र श्रीजंगा स्पोर्टिङ क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ ।