काठमाडौं । कोही कसैले जागिर गुमाएर फेरि त्यत्तिकै बराबरको जागिर खान पाउनु पनि भाग्य नै हो । त्यो अर्थमा डिन स्मिथ भाग्यमानी छन् ।
इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले सात दिन अगाडि स्मिथलाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको थियो । अब बर्खास्तीको सातपछि उनले फेरि अर्को प्रिमियर लिगको मुख्य प्रशिक्षक हुने अवसर पाएका छन् ।
यसपल्ट उनको क्लब हो, नरविच । भिल्ला र नरविचबीच मिल्ने एउटै समानता भनेको दुवै रेलिगेसनबाट बच्न संघर्षरत छन् ।
नरविचसँग उनको अनुबन्ध साढे दुई वर्षको छ । तीन वर्ष अगाडि भने स्मिथले भिल्लालाई प्रिमियर लिगमा बढुवा दिलाएका थिए । अहिले त्यही क्लबले उनलाई बर्खास्त गरेको छ । तर उनलाई यसमा धेरै गुनासो छैन् । बरू भन्छन्, ‘यति कम समयमा फेरि काममा फर्कन पाएकोमा भने खुसी लागेको छ ।’

यसलाई अब भाग्यको खेल नभने के भन्ने त ? उत्तिकै साँचो के पनि छ भने स्मिथका लागि नरविचको बसाइ सजिलो पनि हुने छैन् । खासमा निकै कठिन हुनेछ । आखिरमा नरविच खालि पाँच अंकमा लिग तालिकाको पुछारमा छ ।
यसबीच एउटा अर्को दुलर्भ संयोग पनि जुरेको छ । भिल्ला आफ्नो अन्तिम खेलमा साउथह्याम्पटनसँग पराजित भएको थियो । अब नरविचको खेल यही साउथह्याम्पटनविरुद्ध छ । यस्तोमा स्मिथ एक साताभित्र फरक फरक टिमका लागि एउटै प्रतिद्वन्द्वी सामना गर्ने प्रिमियर लिगको पहिलो प्रशिक्षक पनि हुनेछन् ।
–बीबीसीको सहयोगमा ।